काठमाण्डौ – रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत कोरिया रोजगारीका लागि कृषि तथा पशुपालन क्षेत्रतर्फको पहिलो चरणको कोरियन भाषा परीक्षामा कोरियाको मागभन्दा पनि कम परीक्षार्थी उत्तीर्ण भएका छन् ।
कोरिया सरकारले कृषि तथा पशुपालनतर्फ २ हजार ७ सय ४१ जना श्रमिकले लैजाने गरी माग पठाएको भए पनि भाषा परीक्षामा जम्मा १८ सय ९ जना मात्र उत्तीर्ण भएका हुन् । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार गएको जेठ १९ गतेदेखि असार ३ गतेसम्म भएको कृषि तथा पशुपालन क्षेत्रतर्फको पहिलो चरणको कोरियन भाषा परीक्षा दिएका ६ हजार १०६ मध्ये जम्मा १८ सय ९ जना मात्र उत्तीर्ण भएका हुन् । कृषि तथा पशुपालन क्षेत्रमा पहिलो चरणको कोरियन भाषा परीक्षामा जम्मा ६ हजार ५ सय ९७ जनाले आवेदन दिएकोमा ६ हजार १०६ जनाले परीक्षा दिएका थिए ।
कोरिया सरकारले कृषि तथा पशुपालनतर्फ २ हजार ७ सय ४१ जना श्रमिकले लैजाने गरी माग पठाएको थियो । तर कोरियाको मागभन्दा ९ सय ३२ जना कम परीक्षार्थी मात्रै भाषा परीक्षणमा उत्तीर्ण भएका छन् । सन् २०२२/२३ मा दक्षिण कोरियाले उत्पादनतर्फ ६ हजार २ सय १३ र कृषि तथा पशुपालनतर्फ २ हजार ७ सय ४१ गरी ९ हजार ६ सय ५४ जना श्रमिक लैजाने भनेको छ । सीप परीक्षणको दोस्रो चरणको परीक्षा भने हुनै बाँकी छ । परीक्षामा उत्तीर्ण हुँदैमा कोरियाको रोजगारी निश्चित नहुने ईपीएस कोरिया शाखाले जनाएको छ ।