पर्यटनमन्त्री आलेले दिए राजीनामा, असन्तुष्ट मन्त्रीहरू दबाबमा - Epathivara

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पदबाट राजीनामा दिएका छन्। मन्त्री आलेले अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन्।

 

एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्री विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीलाई सरकारमा पठाउने निर्णय गरेको थियो। हाल स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्री बनाउने निर्णय थियो। तर माधव नेपालले निरन्तर ताकेता गर्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णय कार्यान्वयनमा आलटाल गरिरहेका छन्। मन्त्री हेरफेरको बिषयमा विवाद हुँदा पार्टी विभाजनसम्मको रेखा कोरिएको छ। मन्त्री आलेले राजीनामा पत्र बुझाएको भएपनि मन्त्री खतिवडा, झाँक्री र श्रेष्ठ पद छाड्ने पक्षमा छैनन्।

 

बहालवाला मन्त्रीहरू सकभर आफू नहट्ने र हट्नैपरे नयाँ आफू अनुकुल हुनुपर्ने गरी नेतृत्वलाई दबाब दिइरहेका छन्। उनीहरूले पार्टीको निर्णय अपरिपक्व भएको र नयाँ पठाउने मन्त्री समावेशी हुनुपर्ने भन्दै आठ बुँदे लिखित ध्यानाकर्षण पत्रसमेत अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका थिए।

 

माधव नेपालको दाबी : मन्त्रीको राजीनामा आइसक्यो, नयाँको शपथ आजै
मन्त्री हेरफेरमा विवाद हुँदा मन्त्रीसहित १० सांसदले पार्टी संसदीय दलको बैठक राख्न माग गर्दै ८ बुँदे असन्तुष्टि पत्र बुझाएका थिए। तर मन्त्री आलेसहित ६ सांसदले हस्ताक्षर फिर्ता लिएका छन्। असन्तुष्ट मन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउवादेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत भेटेर आफ्नो पदको रक्षा गर्न दबाब बढाइरहेका छन्।

 

तर समाजवादीले भने ६ महिनाको लागि सहमतिमै मन्त्रीहरु सरकारमा पठाएको भन्दै पार्टीको निर्णय कार्यान्वनमा जोड दिइरहेको छन्। त्यसो त अध्यक्ष नेपालले पार्टीको महिला संघको बैठकलाई सम्बोधन गर्दै नयाँ मन्त्रीहरूको शपथ छिट्टै हुने दाबी गरेका थिए। उनले भनेका थिए, ‘हाम्रो पार्टीले गरेको निर्णय छिटो कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छौँ। मन्त्रीको राजीनामा बोकेर हिँडेको छु, छिट्टै नयाँ मन्त्रीको शपथ हुन्छ। आजै हुने पनि सम्भावना छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय