कृष्ण फुरुम्वो लिम्बू
ताप्लेजुङ, असार ६ गते । जिल्लामा ६ महिनाको अवधिमा (२०७८ पुस १५ देखि २०७९ असार ६ गते) ९ वटा मानवअधिकारको घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले प्रतिवेदन सार्वजनिक गरेको छ । पत्रकार महासँघको कार्यालयमा सोमबार आयोजित अर्धवार्षिक समिक्षा कार्यक्रममा सरोकारवालाबिच प्रतिवेदन सार्वजनिक गरेको हो । इन्सेक प्रतिनिधि देवराज गुरुङका अनुसार ६ वटा बलात्कार,१ वटा स्वास्थ्यकर्मी दुव्र्यवहार,एक वटा जेष्ठ नागरिक हत्या र एक वटा जेष्ठ नागरिक अंगभंग घटना रहेका छन् ।
बालविज्याँई गरेका २ जना बालक सुधारगृह पठाइएको र हाडनातामा बलात्कारका घटना समेत पाइएकाले सचेतनामूलक कार्यक्रम संञ्चालनमा जोड दिइएको छ । परिवारकै सदस्यबाट जेष्ठ नागरिकको हत्या र छिमेकीबाट जेष्ठ नागरिकको आँखा देख्न नसक्नेगरिको कुटपिट समेत समिक्षा कार्यक्रममा छलफलको विषय बनेको छ । इन्सेक प्रतिनिधि गुरुङले भने,“मानव अधिकार साझा विषय हो । दण्डहिनताको अन्त्य गर्न एकजुट हुनुपर्छ ।”
कार्यक्रमका प्रमख अतिथि फुङलिङ नगरपालिका नगरप्रमूख अमिर मादेनले मानव अधिकारको विषय सबैको साझा विषय भएको बताए । व्यक्तिको नैसर्गिक अधिकार भएकाले मानवअधिकारको विषय संवेदनशिल भएको नगरप्रमूख मादेनले बताए । नगरप्रमूख मादेनले भने,“हिरासतमा प्रहरीले यातना दिएको अपुष्ट खबर आउँछ । आशा छ,त्यस्तो नहोस् ।” मानवअधिकारको विषयमा कोठामा भन्दा सार्वजनिक स्थानमा कार्यक्रम गर्न सुझाव दिए । मादेनले भने,“आर्थिक र भौतिक सहयोग गर्न नगरपालिका तयार छ । किनकी मानवअधिकारको संरक्षण गर्नु साझा दायित्व हो ।”
प्रमूख जिल्ला अधिकारी महेश कुमार पोखरेलले इन्सेकको वर्षपुस्तक मानव अधिकारको दस्तावेज भएको बताए । मानव अधिकारको विषयमा वकालत गर्न सबैको हातमालो हुनुपर्ने प्रजिअ पोखरेलले जोड दिए । प्रजिअ पोखरेलले भने,“कारागारको अवस्था उल्लेख हुनुपर्छ । तीबाहेक आर्थिक,सामाजिक र सांस्कृतिक अधिकारका विषय पनि समावेश हुनुपर्छ ।” पत्रकार महासँघका अध्यक्ष आनन्द गौतमले इन्सेकको कार्यक्रममा मानव अधिकारको विषयमा बहस हुने गरेको स्मरण गरे । अरुले पनि मानव अधिकारको विषयमा वकालत गर्नुपर्नेमा अध्यक्ष गौतमले जोड दिए । मनसुनसँगै खेवाङ,मामाखे,खेजेनिम,सावादिन र फुङलिङ नगरपालिकामा पहिरोले विस्थापित भएका परिवारलाई नाना र छानाको व्यवस्थापनमा आवाज उठेको छ । पहिरो पीडित परिवारलाई पिउने पानी,आवास र स्वास्थ्य जस्ता विषयमा स्थानिय सरकार तथा सरोकारवाला निकायले गंम्भिर भएर समस्या समाधान गर्नुपर्ने विषय उठाएका छन् । सरकारी वकिलको कार्यालयका न्यायधिवक्ता रमेश भट्टराईले नागरिकको मानवअधिकारको संरक्षणमा सबैले मिलेर काम गर्नुपर्ने बताए । न्यायधिवक्ता भट्टराईले भने,“इन्सेक घटनाभित्र छिर्नुपर्छ। तबमात्र मसिनो कुरा वास्तविकता थाहा हुन्छ ।” इन्सेकले वर्षपुस्तकका कुनै घटना नछुटुन भनेर सरोकारवालासँग समिक्षा कार्यक्रम गर्ने गरेको छ ।
कार्यक्रममा प्रहरी नायब उपरिक्षक कैलाश कुमार राई,कारागार प्रमूख कुलेन्द्र खवास,नेपाल वार इकाईका सचिव बलराम भट्टराई,एकिकृत समाजवादी पार्टी सचिव मोहन न्यौपाने,एकिकृत माओवादीका प्रदेश कमिटी सदस्य सागर गौतम,नेकपा एमालेका गोपाल न्यौपाने,पत्रकार महासँघका संस्थापक अध्यक्ष मनमणि काफ्ले लगायत जनप्रतिनिधि,कर्मचारी र पत्रकारको सहभागीता थियो । कार्यक्रम इन्सेक प्रतिनिधि गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।