जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव एक कदम पछि हटेनन् भने जसपा फुट्ने निश्चित भएको छ। जसपाका बाबुराम भट्टराई पक्षीय नेताहरू यादव एक कदम पछि नहटे उनलाई कार्यकारिणी समितिको अध्यक्ष पदबाट हटाउने रणनीति छन्।
भट्टराई पक्षीय नेताहरू कार्यकारिणी समिति र केन्द्रीय समितिमा बहुमत सदस्यहरूको हस्ताक्षर जुटाई केन्द्रीय समितिको बैठक बोलाउन पार्टीका कार्यकारिणी अध्यक्ष यादवलाई दबाब दिने र त्यसपछि पनि उनी बैठक बोलाउन तयार नभए आफैं बैठक बोलाउने गृहकार्यमा जुटेका छन्। भट्टराई पक्षले बोलाएको बैठकमा यादवलाई कार्यकारिणी समितिको अध्यक्षबाट हटाउने योजना छ। ‘अब पार्टीलाई फुटाउने कि एकीकरणको अवस्थामा राख्ने, यो निर्णय गर्ने अधिकार उहाँ (उपेन्द्र यादव) कै हातमा छ,’ भट्टराई पक्षीय नेता तथा कार्यकारिणी समिति सदस्य प्रशान्त सिंहले भने, ‘हामी अझै पनि जसपा नफुटोस् र मेलमिलापको स्थिति रहोस् भन्ने चाहन्छौं। तर अब मिलेर जाने कि नजाने भन्ने निर्णय गर्ने अधिकार अध्यक्ष यादवकै हातमा छ।’
भट्टराई पक्षीय अर्का एक नेताले भने, ‘अहिले हामीले केन्द्रीय तथा कार्यकारिणी समितिका सदस्यको हस्ताक्षर रुजु गर्ने काम गरिरहेका छौं। बिहीबारसम्म हस्ताक्षर रुजु गर्छौं। शुक्रबारदेखि प्रक्रिया अघि बढ्छ।’ ती नेताका अनुसार केन्द्रीय समिति र कार्यकारिणी समितिमा भट्टराई तथा वरिष्ठ नेता अशोक राई पक्ष बहमुतमा छ। ती नेताले भने, ‘अहिले अर्को पक्ष आत्तिएको छ। भट्टराई पक्षले ४० प्रतिशत संख्या जुटाउन खोज्यो भनेर उनीहरूले जबरजस्ती प्रचार गरिरहेका छन्। हामीसँग बहुमत छ। केको ४० प्रतिशत? उनीहरूले हाम्रो पक्षलाई कमजोर देखाउन खोजेका हुन्। बरु ४० प्रतिशत संख्या जुटाउन उनीहरू (यादव पक्षीय नेताहरू) लाई समस्या छ।’
बहुमत जुटाएर यादवलाई अध्यक्षबाट हटाउने भट्टराईको रणनीति हावादारी भएको यादव पक्षीय नेताहरू बताउँछन्। ‘किन कुरा मात्र गर्ने, बहमुत जुटाएर देखाउनुहोस् न?’ राष्ट्रियसभा सदस्यसमेत रहेका कार्यकारिणी समिति सदस्य मिर्गेन्द्रसिंह यादवले भट्टराई पक्षलाई चुनौती दिँदै भने, ‘उहाँहरूलाई मेरो चुनौती छ। सक्नुहुन्छ भने उहाँ (उपेन्द्र यादव) लाई हटाएर देखाउनुहोस्।’
मधेस प्रदेशमा जनाधार नै नभएका र कसैसँग गठबन्धन नगरी चुनाव जित्न सक्ने अवस्थामा नभएका केही व्यक्तिले पार्टी फुटाउने कुरा गरेको यादव पक्षीय नेताको भनाइ छ। यादव पक्षीय एक नेताले भने, ‘जसले जे भने पनि मधेस आन्दोलनको हिरो उपेन्द्र यादव नै हो। हाम्रो पार्टीको आधार पनि मधेस नै हो। त्यसैले उहाँ (उपेन्द्र यादव) जहाँ हुनुहुन्छ, मधेसमा मूलधारको पार्टी त्यही हुन्छ। बरु महन्थ ठाकुर, राजेन्द्र महतोले पार्टी फुटाउँदा हामीलाई घाटा भएको थियो। जसले एक सिट जित्न सक्दैन, उनैले पार्टी फुटाउँदा केही फरक पर्दैन।’
स्रोतका अनुसार भट्टराई पक्षीय नेताहरूको तयारीबारे अध्यक्ष यादव पूरै जानकार छन्। तर भट्टराई पक्षीय नेताहरूको मागबमोजिम पार्टीमा २ जना अध्यक्ष राख्न यादव तयार छैनन्। पार्टीमा २ जना अध्यक्ष राखेमा झनै किचलो उत्पन्न हुने उनको बुझाइ छ। भट्टराई पक्षीय नेताहरू भट्टराईलाई कार्यकारिणी समिति अध्यक्ष र राईलाई संघीय परिषद्को अध्यक्ष बनाउन चाहन्छन्। ‘बरु अशोक राईलाई कार्यकारिणी समिति अध्यक्ष बनाऔं। तर विधान अनुसार २ जना अध्यक्ष राखौं भन्ने हाम्रो अडान हो,’ कार्यकारिणी सदस्य सिंहले भने। महन्थ ठाकुरले जसपा छाडेर लोसपा गठन गरेपछि अहिले उनले ओगटेको पहिलो स्थानको कार्यकारिणी अध्यक्ष खाली छ। यही विषयमा पार्टीभित्र किचलो सुरु भएको हो।
यो विवादमा जसपाकै केही नेता भने बीचमा बस्न खोजेका छन्। ‘अहिले जसरी जसपामा विवाद छ भनेर मिडियाले प्रचार गरिरहेका छन्, यो विवादमा म बीचमा छु। कतैतिर छैन। विवादमै पर्न चाहन्नँ,’ प्रतिनिधिसभाका सांसद प्रदीप यादवले भने यादवलाई देउवा र दाहालको साथ जसपाको विवादमा उपेन्द्र यादवलाई नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको साथ रहेको बताइएको छ।
सोमबार देउवालाई भेट्न भट्टराई प्रधानमन्त्री निवास बालुबटार पुगेका थिए। भेटमा उनले यादवले गरको एकल निर्णयलाई मान्यता नदिन देउवासँग आग्रह गरेका थिए। स्रोतका अनुसार अहिलेको गठबन्धन कायम राख्न यादवको सहयोग आवश्यक पर्ने देउवा र दाहालको बुझाइ छ।