एजेन्सी, जापानको नागोयामा रहेको स्टार्टअप कोकेनवा इंकले ‘पकेट टोइलेट’ उत्पादन गरेको छ । यसलाई विश्वको सबैभन्दा सानो, बोक्न मिल्ने शौचालय भनिएको छ ।
तपाईंलाई दिसा पिसाब लागेपछि तपार्ईं जुनसुकै अवस्थामा त्यसलाई बिसर्जन गर्न बाध्य हुनुहुनेछ । राम्रो शौचालयले हाम्रो दैनिक क्रियाकलापलाई सकारात्मक बनाउन निकै हदसम्म काम गर्छ । यो बिना हामीले आफ्नो जीवन कल्पना पनि गर्न सक्दैनौँ । युद्धग्रस्त क्षेत्रहरू र प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रहरूमा सबैभन्दा बढी खोजिने भनेको शौचालयहरू नै हुन् । तर त्यस्ता स्थानमा स्वच्छ शौचालयका खासै विकल्पहरु उपलब्ध हुँदैनन् । खासमा भन्ने हो भने पकेट टोइलेट भन्ने उत्पादन पनि उपलब्ध छ । यसको विशेषता के छ भने यो ७ सेन्टिमिटर अग्लो र ६.५ सेन्टिमिटर चौडा हुन्छ जुन कुनै पनि पाकेट वा पर्समा अट्न सक्छ ।
कोकेनावा इंकका संस्थापक ३० वर्षीय योशिनोरी कोकेनावाले पकेट टोइलेटको अवधारणा सन् २०१९ मा विकसित गरेका हुन् । त्यतिबेला उनले नागानो सहरमा हागिबिस नामको आँधीले क्षती पुर्याउँदा स्वयंसेवककाे रुपमा काम गरेका थिए । परम्परागत बोक्न मिल्ने शौचालयको अगाडि लामो लाइन बसेका मानिसहरुलाई देखेपछि उनलाई यस्तो सोच आएको थियो ।‘मानिसहरु आफ्नो क्षेत्रलाई पुरानै स्थितिमा फर्काउनका लागि सकेसम्म छिटो काम गरिरहेका थिए तर प्रत्येक पटक शौचालय जानुपर्दा भने उनीहरु आधा घण्टासम्म लाइनमा बस्नुपर्दथ्यो,’ कोकेनावाले स्मरण गरे । ‘यसका लागि मलाई केही गर्न मन थियो ।’
सन् २०२० को डिसेम्बरमा कोकेनावाको कम्पनीले पकेट टोयलेट लञ्च गर्यो । यो एउटा यस्तो शौचालय थियो जसलाई कुनै पनि स्थानमा निकै सजिलै प्रयोगमा ल्याउन सकिन्छ । यो शौचलयमा एउटा झोला हुन्छ जुन विशेष र टिकाउ फाइबरले बनेको हुन्छ र यसमा कोगुलेन्टको प्याकेट हुन्छ । उक्त झोलालाई टोइलेटको सिट वा डस्टबिनमा पनि टाँस्न सकिन्छ । कम्पनीले आफ्नो परीक्षणमा उक्त ब्यागको प्रयोगपश्चात् पनि कुनै गन्ध नआएको फेला पारेको छ । कम्पनीले परीक्षण गर्दा ब्यागभित्र दिसा राखेर कोठाभित्र राखेको थियो । कम्पनीको दाबी अनुसार त्यसबाट हप्ता दिनसम्म कुनै गन्ध आएन । ‘यो महिलाको मेकअप ब्यागमा पनि अट्छ, त्यसैले यसलाई धेरै मानिसहरुले आफूसँगै निकै सजिलै बोक्न सक्ने हामीले अनुमान गरेका छौँ,’ कोकेनावाले भने । उनका अनुसार उनको कम्पनीले हालसम्म ५० हजार पकेट टोइलेट बिक्रि गरिसकेको र ६ हजारभन्दा बढी युद्धग्रस्त युक्रेनमा पठाएको छ ।