काठमाण्डाै – रातभर पानी परे पनि अहिले देशका धेरै ठाउँमा घाम चर्किएको छ । गएराति देशका धेरै ठाउँमा लागातार पानी पर्दा ठाउँ-ठाउँमा पहिरो गएको छ ।
पहिरोको कारण मुख्य राजमार्गमा गाडीको चाप परेको छ । तर, बिहान भएसँगै पानी पर्न रोकिएको छ । केही दिनदेखि रातमा झरी पर्ने र दिउँसो घाम लाग्ने भइरहेको छ । मौसमविद् वरुण पौडेलका अनुसार अबको केही दिन रातभर पानी पर्ने र बिहान, दिउँसो चर्काे घाम लाग्ने अनुमान गरिएको छ । बर्खामा मनसुनको जलवाष्पयुक्त हावाका कारण रातको समयमा बादल बन्न सजिलो हुने भएकाले रातभरी पानी पर्ने मौसमविद् पौडेलले जानकारी दिनुभयो । आज पनि बिहान र दिउँसोको समयमा चर्को घाम लाग्ने र राति पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो।
राति पानी पर्ने भएकाले भिरालो जमिनमा बसोबास गर्नेलाई चनाखो भएर सुत्न मौसमविद्को आग्रह छ । सकेसम्म पहिरोको जोखिम रहेका ठाउँमा नबस्न र बस्नै परे चनाखो हुन मौसमविद्को सुझाव छ। यस्तै, आज मनसुन सक्रिय रहेको चार प्रदेश वाग्मती, गण्डकी, मधेस प्रदेश र प्रदेश-१ सहित लुम्बिनी र सुदूरपश्चिममा पनि पानी पर्ने अनुमान गरिएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मनसुन सक्रिय छैन । तर मनसुनको आंशिक प्रभाव र त्यहाँ विकसित भएका स्थानीय वायुको प्रणालीका कारण आज त्यस क्षेत्रमा पनि पानी पर्ने मौसमविद्ले बताएका छन् ।
गएरातिको वर्षाले मुख्य सडकका ठाउँ-ठाउँमा पहिरो
गएरातिको वर्षाले मुख्य सडकका ठाउँ-ठाउँमा पहिरो गएको छ। पहिरोका कारण हेटौँडा–कुलेखानी–फाखेल सडक खण्ड र खोटाङ, उदयपुर जोड्ने सडक ठप्प भएको छ । यी सडक खण्डमा अहिले गाडी चल्न सकेको छैन ।
साना ठूला दुवै गाडीको आवतजावत ठप्प छ । हेटौँडा–कुलेखानी–फाखेल सडक खण्ड हेटौँडा–काठमाण्डौ जोड्ने छोटो दूरीको सडक हो । यस्तै, मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलान्जोरमा पनि पहिरो जाँदा खोटाङ र उदयपुर जाने आउने गाडी ठप्प भएका छन् । नारायणगढ-मुग्लिन सडक खण्डमा भने बिहानैदेखि चापमा गाडी चलिरहेको छन् । पहिरो हटाए पछि बिहानदेखि यो सडक खण्ड खुलेको छ । तर, दुईतर्फी नै सडक खुलाए पनि गाडीको सङ्ख्या धेरै रहेकाले चाप रहेको मुग्लिनका प्रहरी निरीक्षक सुन्जित तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने काली खोलामा ठूलो पहिरो खसेको थियो ।
पहिरोले गुडिरहेको दुई वटा मोटरसाइल र एउटा स्कुटर आंशिक रुपमा पुर्दा तीन जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरी अस्पताल पठाएको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरी निरीक्षक तामाङले जानकारी दिनुभयो । पानी पर्ने बित्तिकै पहिरो जाने भएकाले मुग्लिन-नौबिसे र मुग्लिन-नारायणगढ सडक खण्डको यात्रा जोखिमपूर्ण बन्दै गएको छ ।