एजेन्सी — भारत सरकारले निवृत्तिभरण र तलब कटौती गर्ने उद्देश्यले सशस्त्र बलहरूको नयाँ भर्ती योजना सार्वजनिक गरेको छ । अग्निपथ नामकरण गरिएको उक्त योजनाले स्थलसेना, जलसेना र वायुसेनामा छोटो अवधिको अनुबन्धनका आधारमा सैनिक भर्ती गर्ने लक्ष्य लिएको जनाइएको छ।
रक्षामन्त्री राजनाथ सिंहबाट घोषणा भएको यस योजनाअन्तर्गत साढे १५ वर्षदेखि २१ वर्ष उमेर समूहका करिब ४५ हजार युवालाई चारवर्षे कार्यकाल तोकेर सेवामा लगाइनेछ । चार वर्षपछि ती सैनिकमध्ये २५ प्रतिशतलाई मात्र सेवामा निरन्तरता दिइने छ । उनीहरू नियमित क्याडरका रूपमा भर्ती हुनेछन् । यसरी भर्ती भएकाहरू १५ वर्षसम्म सेवामा रहने छन् तर उनीहरू सैनिक अधिकृतभन्दा तलको तहमा मात्र रहने छन् । भारत सरकारको रक्षा मन्त्रालय अन्तर्गत १४ लाख सक्रिय सैनिक फौज छन् । जुन विश्वकै दोस्रो ठूलो सैन्य संख्या हो । साथै सैन्य सेवामा तेस्रो ठूलो बजेट विनियोजन गर्ने देश पनि भारत हो ।