ताप्लेजुङमा पहिरोले घर–मतान बगाउँदा २ बेपत्ता, घाईतेको हेलिकप्टरबाट उद्धारको तयारी - Epathivara

ताप्लेजुङ: पहिरोले घर–मतान बगाउँदा २ जना बेपत्ता भएका छन् । सिरिजङगा गाउँपालिका ७ खेवाङमा गएराती पहिरोले घर बगाउँदा स्थानीय उद्योगनाथ अधिकारीकी श्रीमती र बुहारी बेपत्ता भएका हुन् । उनका छोरा विष्णु अधिकारी गम्भिर घाईते भएकाछन् । उनलाई हेलिकप्टरबाट उद्धारको तयारी भईरहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।

‘भाग्ने क्रममा उनको आँखा, छाती र टाउकोमा गम्भिर चोट लागेको खबर आएको छ । उनलाई उपचारका लागि स्थलमार्गबाट अस्पतालसम्म पुर्याउन वाढि पहिरोका कारण समस्या छ ।’ प्रजिअ पोखरेलले भने ‘गृह मन्त्रालय र प्रदेश सरकारसँग पनि समन्वय गरिरहेका छौँ । उद्धारका लागि हेलिकप्टर आउँछ ।’ उनको अवस्था गम्भिर भएकाले जिल्लामा उपचारको सम्भव नदेखिएको प्रजिअ पोखरेलले बताए ।

यता घटनास्थल तर्फ प्रहरी टोली खटिएको ताप्लेजुङ प्रहरी प्रमूख डिएसपी कैलाश राईले जानकारी दिए । घटनाको जानकारी पाउनासाथ खेवाङ प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल तर्फ गएको र थप टोली ईलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको डिएसपी राईले बताए ।

‘घटनास्थल पुग्नको लागि खोलाहरु बढेको र वाटो पनि भत्किएको कारण समस्या भएको छ । टोली पुगेपछि पूर्ण विवरण प्राप्त हुनेछ ।’ डिएसपी राईले भने । अधिकारीको घरमाथी सडक खनिएको थियो । सोहि सडकसँगै गएको पहिरोले घरमतान बगाएको हो । जिल्लाका अन्य स्थानमा पनि बाढीपहिरोको घटना भएपनि मानविय क्षति भने हालसम्म जानकारीमा नआएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर