एजेन्सी । भारतमा अवस्थित एसियाकै ठूलोमध्ये एक अहमदाबाद सिभिल अस्पतालमा पहिलो पटक दुई फरक देशका नागरिकबीच अंगदान सम्पन्न भएको छ ।
सडक दुर्घटनामा परी घाइते भएका लक्ष्मण मंगेता नामका २५ वर्षीय नेपाली युवकलाई अहमदाबाद सिभिल अस्पतालमा भर्ना गरिएको थियो । लक्ष्मण ब्रेन डेड घोषित भएपछि परिवारका सदस्यले उनको अंगदान स्वीकृत गरेका थिए ।
लक्ष्मणका दान गरिएका पाँचवटा अंगबाट पाँच भारतीय नागरिकलाई प्रत्यरोपण गरियो । अस्पताल स्रोतले भारतमा विदेशी युवा यसरी अंग दाता बनेको सायद यो पहिलो घटना भएको हुनसक्ने बताएको छ । नेपालका लक्ष्मण मंगेटा र उनको परिवार विगत केही वर्षदेखि अहमदाबादबाट १३०० किलोमिटर टाढा बस्दै आएका छन् । गत असार १० गते सडक दुर्घटनामा परी लक्ष्मण घाइते भएका थिए । उनलाई अहमदावाद सिभिल अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकको अथक प्रयासका बाबजुद पनि युवकलाई बचाउन सकिएन र मंगलबार चिकित्सकले उनलाई ब्रेन डेड घोषणा गरे ।
ब्रेन डेड भएको खबरले सिंगो परिवार स्तब्ध भयो । यति हुँदाहुँदै पनि मानवीय निर्णय लिएर उनीहरू अंगदानका लागि राजी भए । लक्ष्मणको कलेजो, दुईवटा मिर्गौला, मुटु र प्यान्क्रियाज दान गरिएको अस्पताल स्रोतले बताएको छ । लक्ष्मणको अंग पाँच विपन्न परिवारका मानिसलाई प्रत्यारोपण गरिएको अस्पताले बताएको छ । प्रत्यारोपणपछि अहमदावाद सिभिल अस्पतालले लक्ष्मणको शव नेपाल लैजाने व्यवस्था मिलाएको थियो ।