पाथीभरा संवाददाता
ताप्लेजुङ, असार १ गते । जिल्ला समन्वय समिति ताप्लेजुङमा निर्वाचित नयाँ नेतृत्वले आज सपथ ग्रहण गर्दैछन् । अहिले बिहान साढे १० बजे मुख्य निर्वाचन निर्वाचन अधिकृतको कार्यलयमा जिल्ला न्यायधिस तथा मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जिसस प्रमुख छिरिङ लामालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउँदै हुनुहुन्छ । सपथ ग्रहण पश्चात जिसस प्रमुख लामाले उपप्रमुख सहित अन्य सदस्यहरुलाई सपथ ग्रहण गराउने तयारी भईरहेको छ । सपथ ग्रहण सम्पन्न भएपछि आजैदेखि नै कार्यभार सम्हाल्ने समेत बताईएको छ । हिजो भएको मतदानबाट पुर्व समन्वय समिति प्रमुख घनेन्द्र मादेनलाई २ मतले पछि लामा प्रमुखमा निर्वाचित हुनु भएको थियो । त्यस्तै उपप्रमुखमा कृष्ण प्रसाद लिङखिम निर्विरोध हुनुभएको थियो ।
नौ सदसिय जिल्ला समन्वय समितिका लागि दलित वा अल्प संख्यकतर्फ माओवादीका सन्तोष राई, महिला तर्फ कांग्रेसका चन्द्रकला दाहाल, सविता लिङदेन र हेमन्ता पौडेल विजयी हुनु भएको छ । खुल्ला सदस्यमा एकीकृत समाजवादीका रवीन्द्र कुमार वनेम, माओवादी केन्द्रका भूपाल मादेन र कांग्रेसका विष्णुप्रसाद तिवारी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत राउतले बताउनुभयो । स्थानीय तह निर्वाचनअघि गठबन्धन दलहरुबीच नेकपा माओवादी केन्द्रले समन्वय प्रमुख र एकीकृत समाजवादीले उपप्रमुख पाउने सहमति भएको थियो । माओवादी केन्द्रको आन्तरिक विवादका कारण एकीकृत समाजवादीले प्रमुख र कांग्रेसले उपप्रमुख पाएको हो ।
जिल्लामा कांग्रेसका ६, एमालेका ६, माओवादीका ५ र एकीकृत समाजवादीका १ जनाले स्थानीय जितेका छन् । कांग्रेस, माओवादी र एकीकृत समाजवादीका अध्यक्ष र उपाध्यक्षको संख्या १२ छ । एमालेका अध्यक्ष र उपाध्यक्षको संख्या भने ६ रहेको थियो । जिसस प्रमुख, उपप्रमुख र समन्वय समिति सदस्यका लागि नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुखले मतदान गर्छन् ।