एजेन्सी – तालिबानले अफगान महिलाहरूलाई सार्वजनिक स्थानहरूमा शरीर ढाक्ने बुर्का लगाउन आदेश जारी गर्दै परिवारको पुरुष सदस्यलाई तीन दिनको लागि जेल सजाय दिइने बताएको छ।
कुनै महिलाले हिजाब नलगाएको खण्डमा सबैभन्दा पहिले उनको अभिभावक (बुवा, भाइ वा श्रीमान्) लाई सचेत गराउन सल्लाह दिइने छ। यदि उनी फेरि दोषी पाइएमा, उनको अभिभावकलाई बोलाइनेछ र पछि दोहोर्याइएको खण्डमा अभिभावकलाई तीन दिनको लागि जेलमा राखिने तोलो न्यूजले रिपोर्ट गरेको छ। यसबाहेक यदि महिला पुन: दोषी पाइएमा, उनको अभिभावकलाई थप सजायको लागि अदालतमा पठाइनेछ। हिजाब नलगाउने महिला कर्मचारीलाई बर्खास्त गरिनेछ। त्यस्तै, सरकारी कार्यालयमा कार्यरत पुरुष कर्मचारीले आफ्नो परिवारका महिला सदस्यले हिजाब नलगाएको खण्डमा उनीहरूलाई जागिरबाट निलम्बन गरिने भएको छ।
तालिबानले अफगान महिलाहरूलाई सार्वजनिक रूपमा ढाक्ने बुर्का लगाउन आदेश पटक-पटक दिँदै आएको छ। अध्यादेश नयाँ भए पनि तालिबानले अगस्टमा सत्तामा फर्किएदेखि नै महिलालाई लुकाउन बाध्य पार्दै आएको छ। यसअघि, तालिबानका धार्मिक प्रहरीले अफगान महिलाहरूलाई लुकाउन आदेश दिँदै राजधानी काबुल वरिपरि पोस्टरहरू लगाएका थिए। सदाचार प्रवर्द्धन तथा दुर्व्यवहार रोकथाम मन्त्रालयले क्याफे र पसलमा पोस्टर टाँसेको छ। पोस्टरमा अनुहार छोपेको बुर्काको तस्बिर र तस्बिरसँगै पोस्टरमा एउटा सन्देश लेखिएको छ, ‘शरिया कानून अनुसार मुस्लिम महिलाले हिजाब लगाउनैपर्छ।’
सन् १९९० को दशकमा तालिबानले आफ्नो शासनकालमा महिलाहरूलाई बुर्का लगाउन अनिवार्य गरेको थियो। काबुलका महिलाहरूले पहिल्यै हेडस्कार्फले कपाल छोपेका छन्, यद्यपि केहीले सामान्य पश्चिमी लुगा लगाउँछन्। अब, तालिबानले यो नयाँ आदेश जारी गरेसँगै अफगानिस्तानमा हरेक महिलालाई सबै शरीर ढाक्ने बुर्का लगाउनुपर्ने नियम लागू गरिरहेको छ। गत वर्ष डिसेम्बरमा, तालिबानले अर्को दमनकारी निर्देशन जारी गर्यो जसमा सडकबाट लामो दूरीको यात्रा गर्न चाहने अफगान महिलाहरूलाई पुरुष आफन्तको साथमा मात्र यात्रा गर्न पाउने नियम जारी गरेको थियो।
यसबाहेक, तालिबानले केटीहरूको लागि सबै माध्यमिक विद्यालयहरू बन्द गर्ने निर्णय गरेपछि अफगानिस्तानमा तालिबान शासनको विश्वव्यापी निन्दा भएको थियो। धेरै कार्यकर्ता र राजनीतिक दलहरूले तालिबानलाई केटीहरूको लागि माध्यमिक विद्यालयहरूमा प्रतिबन्धमा पुनर्विचार गर्न आग्रह गरेका छन्।