प्रायः आफ्नै सवारी लिएर लामो दूरी पनि हिँड्ने बुटवलका युवा उद्यमी कृष्ण बस्याल धेरै लामो समयपछि सार्वजनिक सवारीमा चढे । आफ्नो व्यावसायिक कामका लागि काठमाडौं प्लेनमा गएका उनी फर्किंदा भने बसमा नै फर्किएका थिए ।
उनीसँग नाताले भाउजू पर्ने तिलोत्तमा– ९ मणिग्राम ४ नम्बरीकी तुल्सी बस्याल पनि सँगै थिइन् । उनी चढेको बस नारायणगढ आइपुग्दा बिग्रियो । उनलाई अर्को गाडी फेर्ने मन थिएन । बनाउन धेरै नै समय लाग्ने भएपछि उनी भाउजूसहित जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको बसमा चढे । भैरहवा पुग्न करिब साढे ३ किलोमिटर दूरी बाँकी थियो । उनीसहित सबैजसो यात्रु निदाएका थिए । उनी चढेको जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ तोडेर खोलामा खस्यो । यो नै उनको अन्तिम सार्वजनिक यातायातको यात्रा भयो । उनीसहित भाउजू नाता पर्ने बस्यालको पनि ज्यान गयो । सानै उमेरबाट व्यवसाय सञ्चालन गर्दै आएका बस्याल, बुटवलको कालिकानगरमा प्रतिष्ठित हार्डवेयर व्यवसायीको रूपमा आफूलाई परिचित बनाइसकेका थिए ।
सो बस दुर्घटनामा मृत्यु हुनेहरूमा रूपन्देहीको ओमसतिया गाउँपालिका– ४ का ६५ वर्षीय राजेन्द्र पाण्डे, तिलोत्तमा– २, योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहट चन्द्रनिगाहपुरका २० वर्षीय दिनेश दास र भारत जनकपुरग्राम बस्ने ४० वर्षीय अरविन्द शर्माको पहिचान खुलेको छ । अन्य तीन जना मृतकको भने पहिचान खुलेको छैन । प्रहरीका अनुसार मृतक ९ मध्ये ८ जना पुरुष र १ जना महिला छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलका अनुसार पश्चिम नेपाल बस व्यवसायी प्रालिमातहत रहेको उक्त बसमा चालक र सहचालकसहित ३३ जना सवार थिए ।
तीमध्ये नौ जनाको मृत्यु भएको छ भने २४ जना घाइते छन् । २५ जना पुरुष, ६ जना महिला र दुई बालिकामध्ये ८ जना पुरुष र १ जना महिलाको मृत्यु भएको छ भने घाइते सबैको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ । यसअघि भीम अस्पतालमा उपचाररत घाइतेहरूलाई पनि अहिले मेडिकल कलेज लगेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।