ताप्लेजुङमा चुनावअघि मृत भेटिएका कार्कीको मृत्यु अझै रहस्यमा - Epathivara

ताप्लेजुङ — वैशाख २८ गते साँझ मृत भेटिएका मिक्वाखोला गाउँपालिका १ खोक्लिङका २४ वर्षीय युवकको मृत्यु भएको एक महिना पुग्नै लाग्दा पनि घटनाको रहस्य खुलेको छैन ।

 

तेल्लावुङ कन्ट्रक्सनको स्काभेटर मेसिन चलाउने विनोद कार्कीको हत्या भएको दाबी गर्दै नेकपा एमालेले भने दोषीमाथि कारबाहीको माग गर्दै आएको छ । एमालेका नेताहरूले जिल्लामा विज्ञप्ति जारी गर्नेदेखि केन्द्रमा गृहमन्त्री वालकृष्ण खाँणलाई भेटेर घटनाको छानबिनका लागि दबाब समेत दिएका छन् । एमालेले भने निर्वाचनको दुई दिनअघि भएको उक्त घटनाको आरोप सत्ता गठबन्धनका नेताहरूलाई नै लगाउँदै आएको छ । घटनाको भोलिपल्ट वैशाख २९ गते जिल्ला अध्यक्ष भुपेन्द्र थेवेद्वारा जारी गरिएको विज्ञप्तिमा ‘पाँच दलीय सत्ता गठबन्धनका २५/२६ जना हतियारधारी कार्यकर्ताहरूले तड्पाई तड्पाई निर्दयी र क्रुरतापूर्वक हत्या गरेको’ उल्लेख छ ।

 

जेठ १० गते एमाले सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले गृहमन्त्री खाँणलाई बुझाएको ज्ञापनपत्रमा पनि ‘राजनीतिक उद्देश्यबाट प्रेरित हत्या’ भएको उल्लेख छ । भट्टराईले बुझाएको ज्ञापनपत्रमा आफ्नो ‘घर नजिकैको भीर बाटोमा कुटपिट गरी निर्ममतापूर्वक हत्या गरिएको’ अनुसन्धानबाट देखिएको दाबी गरिएको छ । गठबन्धनका तर्फबाट वैशाख २९ गते जारी विज्ञप्तिमा भने एमालेलाई लक्षित गर्दै शवमाथि राजनीति नगर्न अपिल गरिएको थियो । कांग्रेस जिल्ला कार्य समितिका उपसभापति डिल्लीरमण वराल र माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक विष्णु कुमार हाङवाङद्वारा जारी भएको विज्ञप्तिमा अमर्यादित शब्द प्रयोग गरी अनुसन्धानको क्रम नै प्रारम्भ नभई दोषारोपण गरेको देख्ता दु:ख लागेको उल्लेख गरिएको थियो ।

 

‘न्यायलाई राजनीतिसँग सौदावाजी गर्न खोजेको देख्ता शवको राजनीति कोही कसैले नगरौं, बरु दोषीलाई कारबाही गर्न सहयाग गरौं,’ गठवन्धनद्वारा जारी विज्ञप्तिमा भनिएका थियो, ‘आपराधिक कार्यको घृणा गर्दै अपराधी जोसुकै भए पनि कानुनको दायरामा ल्याउन अनुरोध छ ।’ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार प्रहरीको १ नम्बर प्रदेशबाट आएको टोलीले घटनाको अध्ययन गरिरहेको छ । प्रहरी नायब उपरीक्षक कैलाश राई अनुसन्धान चलिरहेको र तथ्यको नजिक पुगेको बताउँछन् । ‘प्रदेशको अनुसन्धान टोली आएको छ र अनुसन्धान चलिरहेको छ,’ राईले भने, ‘अब धेरै दिन नलाग्ला दोषी पत्ता लाग्ला ।’

 

प्रहरी श्रोतका अनुसार प्रदेशबाटै कल डिटेल लगायत अध्ययन गरेको टोली त्यसपछि घटनास्थल आएको हो । निर्वाचन मिति नजिकिदै गर्दा विनोद केही दिन घर बस्ने र भोट पनि हालेर फर्किने भन्दै छुट्टी लिएर घर जाँदै थिए । कन्ट्रक्सनका प्रबन्धक टंक खतिवडाका अनुसार २८ गते दिउँसो ३ बजेतिर दोभानबाट हिँडेका उनले ६ बजे हान्द्रुङबाट बाबुलाई फोन गरेर घर आउँदै छु भाले पनि, काट्नु भात पकाइराख्नु भनेर फोन गरेका थिए । दोभानबाट पैदल झण्डै दुई घण्टामा पुगिने ठाउँमा उनी साँझपछि मात्रै हान्द्रुङ बजारबाट उकालो लागेका थिए । त्यसपछि फोन सम्पर्क नभएपछि खोजी गर्ने क्रममा बाबुसहितको टोलीले खोर्साने भन्ने स्थानमा झोला भेटाएपछि अरु गाउँलेलाई खबर गरेका थिए । गाउँलेहरु समेत भेला भएर खोजी गर्ने क्रममा डेढ/दुई सय मिटर तल शव देखिएपछि प्रहरीलाई खबर गरेको खतिवडाले बताए ।

ekantipur

 

प्रतिक्रिया

सम्बन्धित खवर