कालीगण्डकीको बिजुली भारतले खरिद शुरु गर्याे - Epathivara

काठमाडौँ । नेपाल सरकारले शनिबार रातिदेखि कालीगण्डकी आयोजनाको १४० मेगावाटसहित कुल १७७.७ मेगावाट बिजुली भारत निर्यात गर्ने भएको छ ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार नेपालले गत बुधबार रातिबाट त्रिशुली र देवीघाट जलविद्युत आयोजनाको करिब ३९ मेगावाट बिजुली भारतमा बेच्न थालेको थियो ।

भट्टराईका अनुसार शनिबार राति १२ बजेबाट कालीगण्डकीको बिजुली पनि भारत जाने भएको छ । ‘त्रिशुली र देवीघाट जलविद्युत आयोजनाबाट ३७.७ मेगावाट र कालीगण्डकी जलविद्युत आयोजनाबाट १४० मेगावाट गरी कुल १७७.७ मेगावाट भारत जान लागेको हो,’ भट्टराईले भने, ‘आइतबारका लागि प्रतियूनिट औसत भारु ७ रुपैयाँ ४ पैसामा बिजुली बेचिनेछ ।’

नेपालले इन्डियन इनर्जी एक्स्चेन्ज’ (आईईएक्स) मा बिजुली बेच्नका लागि गत वर्ष कात्तिकमा अनुमति पाएको थियो । गत वर्ष त्रिशुली र देवीघाट जलविद्युत आयोजनाको मात्रै बिजुली भारतले किनेकोमा अहिले मर्स्याङदी, मध्यमर्स्याङदी, कालीगण्डकी र लिखुसमेत गरी कुल ३६४ मेगावाट बिजुली खरिद गर्ने सहमति दिएको पनि प्रवक्ता भट्टराईले जानकारी दिए । नेपालले बिजुली बेच्न प्रस्ताव गरेका अरु तीन आयोजना माथिल्लो तामाकोसी, माथिल्लो भोटेकोसी र चमेलियाको बिजुली किन्नका लागि भने भारतले हालसम्म स्वीकृति दिएको छैन ।

केही समयअघि भारतबाट बिजुली नपाएर औद्योगिक ग्राहकको लाइन काटेको प्राधिकरणले अहिले फेरि भारतलाई बिजुली बेच्न थालेको हो । वर्षायाममा नेपालको बिजुली खपत नभएर खेर जाने अवस्था भए पनि हिउँदमा भने भारतबाटै आयात गर्नुपर्ने अवस्था छ । नेपालले गत वर्ष कात्तिक १७ गतेबाट ‘डे अहेड मार्केट’को अवधारणामा आईईएक्समा बिजुली बेच्न थालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर