ताप्लेजुङ — आठराई त्रिवेणी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिपेन पोमुले यतिबेला आफ्नो पालिकामा वाहीवाही पाइरहेका छन् । एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका सबैभन्दा कान्छो पालिका अध्यक्ष ३४ वर्षीय पोमुले पालिकाभरिको विद्युत् महसुल छुट गर्ने निर्णय गरेका छन् ।
उनको यो निर्णयको सर्वसाधारणले स्वागत गरेका छन् । विद्यालय, संघसंस्थाले आफूहरूले पनि निःशुल्क पाउनुपर्ने प्रस्ताव गर्न थालेका छन् । तर, पोमुको यो निर्णयप्रति विज्ञहरू भने सहमत छैनन् । विद्युत् निःशुल्क गर्नेभन्दा घरघरमा उद्योग पुर्याएर खपत बढाउनेतर्फ लाग्नुपर्ने उनीहरूको सुझाव छ । फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू मुक्तिले गाउँपालिकाका माध्यमिक विद्यालयमा ५ कक्षासम्म यसै वर्षबाट अंग्रेजी माध्यमबाट पढाइ थाल्ने घोषणा गरेका छन् । उनले गरिब र धनी बीचको शैक्षिक विभेदलाई अन्त्य गर्न नौवटा माविमा १ देखि ५ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिने उल्लेख गरेका छन् । उनको निर्णय स्वगतयोग्य र आवश्यकताअनुकूल भए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको विज्ञको दाबी छ । बिनातयारी थोपरिने आदेश र निर्णयले उचाइ हासिल गर्न नसक्ने उनीहरूको तर्क छ ।
फुङलिङ नगरपालिका प्रमुख अमीर मादेनले शनिबार र मंगलबार सदरमुकाम फुङलिङको तोक्मेडाँडामा लाग्ने हाटमा लाग्दै आएको कर हटाउने उद्घोष गरेका छन् । गाउँबाट साग, दूध, बोकेर आउने किसानलाई कर थोपर्न नहुने उनको तर्क छ । नगर प्रमुखको यो निर्णय कार्यान्वयन हुने निश्चित जस्तै छ । तर, लगाएको कर हटाउनेभन्दा उठाएको पैसाले बस्ने ठाउँको व्यवस्थापन राम्रो मिलाइदिए दुवैलाई फाइदा हुने सुझाव दिनेहरू पनि छन् । सस्तो लोकप्रियताका लागि छुट दिनुभन्दा सुविधा दिएर आयआर्जन बढाउनु आजको आवश्यकता भएको उनीहरूको तर्क छ । मादेनले हटिया कर वर्षमा अढाई लाख रुपैयाँ हुने र त्यो छुट दिँदा कुनै फरक नपर्ने दाबी गर्छन् । ‘गाउँबाट साग, आलु बोकेर आएको हुन्छ, बिक्री भएको हुँदैन, कर उठाउनेले अहिल्यै तुरुन्तै ल्याइ हाल भनेर ताकेता गरिरहेको देखेको छु,’ मादेनले थपे, ‘बिचरा त्यो दुईचार मुठा साग, कुखुराको चल्ला बिक्री गर्नेलाई दुःख दिनु राम्रो होइन ।’ करभन्दा पनि तनाव बढी दिएको आफूले पाएको मादेन बताउँछन् ।
आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष पोमु गाउँपालिकाभरि विद्युत् महसुल छुट दिँदा मासिक डेढदेखि दुई लाख रुपैयाँसम्म लाग्ने तर अन्य स्रोतबाट कर उठाउने बताउँछन् । ‘यहाँ खोलाको बालुवा त्यतिकै लगेका छन्, गिट्टीको स्रोत पहिचान गरेको छु,’ उनले भने, ‘मैले यो निर्णय गर्नुअघि गम्भीर अध्ययन गरेको छु र त्यहीअनुरूप घोषणा गरेको हुँ ।’ जनता पनि लाभान्वित हुने र पालिकालाई पनि क्षति नहुने गरीे कार्यविधि बन्ने उनले बताए । अहिले ५० रुपैयाँ शुल्क बुझाउन दुई हजार रुपैयाँ तिरेर सदरमुकाम फुङलिङ धाउनुपर्ने बाध्यता हटाउनका लागि पनि आफूले यो निर्णय लिएको उनको तर्क छ । वर्षौंदेखि विद्युत् उत्पादनको क्षेत्रमा काम गर्दै आएका हाइड्रो इन्जिनियर वीरेन्द्र श्रेष्ठ कुनै पनि वस्तु निःशुल्क दिएर आवश्यकता टारिदिनुभन्दा पनि आम्दानी बढाएर गर्जो टार्ने बनाउनुपर्ने बताउँछन् । उनले भने, ‘उहाँले छिटो स्यावासी लिन खोज्नुभयो, यो उहाँकै लागि पनि क्षति हो ।’
भान्सादेखि ओछ्यानसम्म बिजुलीको प्रयोग गर्नुपर्ने यो बेलामा यसको उपयोगिता बढाएर आय बढाउनुपर्ने उनको सुझाव छ । ‘पहिलाजस्तो ढिकी जाँतोमा कुट्नु पिस्नु पर्दैन, साथी चाहिँदैन,’ श्रेष्ठले थपे, ‘बिजुलीको प्रयोगले धान कुट्ने, मकै पिस्ने, दाल घरमै पिसेर प्याक आफैंले बनाएर बजार पुर्याउने प्रबन्ध पो मिलाइदिनुपर्छ त ।’ बिजुलीसँग रोजगारी जोडिएको हुँदा आम मान्छेलाई त्यतातिर केन्द्रित गरेर आत्मनिर्भर बनाउनुपर्नेमा उनको जोड छ ।
फक्ताङलुङ र सिरिजंगा गाउँपालिकामा १५ वर्षदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएको संस्था ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) का प्रबन्धक राजेन्द्र पन्त एकैपटक पाँच कक्षासम्म अंग्रेजी माध्यमको पढाइ निकै चुनौतीपूर्ण रहेको बताउँछन् । ‘हाम्रोमा सबैभन्दा ठूलो चुनौती शिक्षकको क्षमतामा हो,’ उनले भने, ‘पहिला एउटा विषय मात्रै अंग्रेजी पढेका शिक्षक धेरै हुनुहुन्छ, उहाँहरूलाई एकै चोटि बदल्न गाह्रो छ । उहाँहरू नै नबदलिएसम्म विद्यार्थीमा पुर्याउन कसरी सम्भव होला र π’ घोषणा मात्रै गरेका अध्यक्ष लिम्बूले भने यसको अवधारणा सार्वजनिक गरेका छैनन् ।
यीबाहेक मैवाखोला गाउँपालिका अध्यक्ष विजय वनेमले सामाजिक सुरक्षाभत्ता प्रत्येक वडाबाटै वितरण गर्ने, गाउँपालिकाले खनेका सडक तीन वर्षभित्र ग्राभेल गर्ने निर्णय गरेका छन् । वनेमले भने, ‘बैंकसँग समन्वय गरेर चार महिनामा एक दिन वडामा पुग्ने गरी व्यवस्था मिलाउँछौं ।’ ज्येष्ठ नागरिकले बैंकमा आउनुपर्दा हैरानी पाएको, बैंकले पूरा पैसा पनि नदिएको र बैंक पुगेर घर फर्कंदा आधा बढी पैसा खर्च भएको गुनासो गरेपछि आफू यो निर्णयमा पुगेको उनको दाबी छ । यो निर्णय आठराई त्रिवेणीका अध्यक्ष पोमुले पनि गरेका छन् । एउटा वडामा चार महिनामा एक वा दुई दिन मात्रै पुग्नुपर्ने भएकाले गाउँपालिकाले कर्मचारी र यातायातको व्यवस्था मिलाएर भए पनि रकम वडावाटै दिने व्यवस्था मिलाउने पोमु बताउँछन् । फक्ताङलुङका अध्यक्ष लिम्बूले गाउँपालिकाको गाडी बिरामी बोक्न प्रयोग गर्न थालेका छन् । उनले निर्वाचन अघि सरकारी सुविधा प्रयोग नगर्ने बताएका थिए । फक्ताङलुङका अध्यक्ष लिम्बूबाहेकले आफ्ना घोषणाहरूको पालिका बैठकबाट निर्णयसमेत गरिसकेका छन् । ekantipur