झरनाको प्रवर्द्धन गरिँदै - Epathivara

ओखलढुंगा — पर्यटकीय क्षेत्र ओखलढुंगाको लिखु गाउँपालिका–९ स्थित पोकली झरना क्षेत्रमा जारी पूर्वाधार निर्माणले आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने स्थानीयको आशा छ । मूल सडकदेखि झरनासम्म जाने बाटोमा ढुंगाको सिँढी बनाइएको छ । झरनालाई पृष्ठभूमिमा राखेर फोटो, भिडियो खिच्न मिल्ने गरी बनाइएको सुटिङ स्पट सकिएको छ । पिकनिक स्पट बन्दै छ । शिव मन्दिर बनिसकेको छ ।

 

आसपासमा शिवजी र गौतम बुद्धको मूर्ति, चिल्ड्रेन पार्क बनाउन स्थानीय र पोकली झरना संरक्षण समितिले पहल गरिरहेको छ । उक्त झरना हेर्नका लागि दैनिक ५० देखि एक सय पर्यटक आउने गरेको बताइन्छ । पर्यटन वर्ष २०२० मा सरकारले छनोट गरेको सय गन्तव्यको सूचीमा परेको उक्त झरना १ सय ३० मिटर अग्लो छ । यसको प्रचारका लागि तीनवटा महोत्सव सम्पन्न भइसकेका छन् । झरनामा पर्यटक भित्र्याउन रामेछापको मन्थलीदेखि सिरिसे ढाडे सडक स्तरोन्नति गर्नुपर्ने देखिन्छ ।

 

गाउँपालिका अध्यक्ष अशोक कार्कीले उक्त झरना गाउँकै प्रमुख पर्यटकीय गन्तव्य भएको बताए । उनले पोकलीको प्रवर्द्धन एवं पूर्वाधार विकासमा स्थानीयको माग र आवश्यकतालाई ध्यानमा राखेर गाउँपालिकाले आफ्नै हैसियतअनुसारको बजेट व्यवस्था गर्ने बताए । उनले भने, ‘हामीले नसकेको खण्डमा प्रदेश र संघीय सरकारसमक्ष माग राखेर भए पनि पोकलीको प्रवर्द्धनमा कुनै कमी गरिने छैन ।’

ekantipur

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय