नातिनातिना नपाइदिएको भन्दै आमा–बुवाले छोराविरुद्ध हाले मुद्दा - Epathivara

नातिनातिनाको मायाको व्याख्या गर्नुपर्दा ‘सावाँको भन्दा ब्याजको माया’ भन्ने वाक्यांश सबैभन्दा धेरै प्रयोग हुने गर्छ । अर्थात् हजुरबुवा–हजुरआमालाई आफ्नो छोराको भन्दा नाति नातिनाको बढी माया लाग्छ । सायद यही माया प्रस्फुटित भएर होला, एक दम्पत्तिले आफ्नै छोरा–बुहारीविरुद्ध मुद्दा हालेका छन् । त्यो पनि नाति नातिना नपाइदिएको भनेर ।

 

६१ र ५७ वर्षीय सञ्जिव र साधना प्रसादले आफ्नो छोरालाई हुर्काउन, पाइलटको तालिम गराउन र भव्य विवाहका लागि आफ्नो बचत खर्च गरेको बताए । उनीहरुले एक वर्षभित्र नातिनातिना नजन्मिएमा करिब ६,५०,००० डलर (८ करोड रुपैयाँ बढी) क्षतिपूर्तिको माग गरिरहेका छन् । उनीहरुका छोरा–बुहारीको यसबारे कुनै टिप्पणी सार्वजनिक भएको छैन । यो असाध्यै अचम्मको मुद्दा ‘मानसिक उत्पीडन’ अन्तर्गत दायर गरिएको हो ।

 

प्रसाद दम्पत्तिका अनुसार उनले आफ्नो सबै बचत आफ्नो एक्लो छोरामाथि खर्च गरे । सन् २००६ मा पाइलट प्रशिक्षणका लागि ६५,००० को लागतमा अमेरिका पठाए । टाइम्स अफ इन्डियामा प्रकाशित समाचार अनुसार उनी सन् २००७ मा भारत फर्किए । तर उनको जागिर गुम्यो । तसर्थ उनका आमा–बुवाले छोराको परिवारलाई दुई वर्षभन्दा बढी आर्थिक रुपमा सहयोग गर्नुपर्यो । ३५ वर्षका श्रेय सागरले अन्ततः पाइलटको जागिर पाए । उनका आमाबुवाले सन् २०१६ मा ३१ वर्षीया शुभाङ्गी सिन्हासँग विवाह गराइदिए । छोराको विवाह गर्दा आफूहरुले सेवानिवृत्तिमा नाति नातिना खेलाउन पाउने आशा गरेको बताए ।

 

उनका आमाबुवाले छोराको विवाहमा पाँचतारे होटलमा रिसेप्सन पार्टीको खर्च, ८० हजार डलरको विलासी कार र विदेशमा हनिमुन मनाएको खर्च आफैंले व्यवहोरेको बताए । ‘मेरो छोराको ६ वर्ष अघि विवाह भएको हो तर अहिलेसम्म पनि बच्चा जन्माउने योजनामा छैन,’ प्रसादले भने, ‘हामीसँग कम्तीमा एउटा नाति वा नातिनी भएको भए आफ्नो दुःख भुलाउने एउटा बाटो त पाउने थियौँ ।’ प्रसाद दम्पत्तिका वकिल एके श्रीवास्तवले भने, ‘उहाँहरुले आफूहरुमाथि मानसिक उत्पीडन गरिएको भन्दै नगदको माग पनि गर्नुभएको छ ।’

 

‘प्रत्येक हजुरबुवा–हजुरआमाको आफ्नो नाति नातिना हेर्ने तीब्र इच्छा हुन्छ । उहाँहरुले आफू हजुरबुवा–हजुरआमा बन्न निकै वर्षदेखि प्रतीक्षा गरिरहनुभएको थियो ।’ हरिद्वारमा दर्ता गरिएको दम्पत्तिको याचिकाको सुनुवाई अदालतमा १७ मे मा हुने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर