ताप्लेजुङ, जेठ १८ गते । सिटिजन लाइफ इन्स्योरेन्स ताप्लेजुङले मृत्यु दावी भुक्तानी बापतको ३ लाख ५० हजार रुपैंया बराबरको चेक मृतकका आफन्तलाइ हस्तान्तरण गरेको छ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ खाम्लुङकी पदमकुमारी सेलिङको मृत्यु दाबी रकम बुधबार हस्तान्तरण गरिएको हो ।
मृतक पदमकुमारीका श्रीमान् अमृत लिम्बूलाइ फुङलिङ नगरप्रमुख अमिर मादेनले हस्तान्तरण गर्नुभयो । अमृतलाइ बीमाङ्क बापत ३ लाख र मृतकको काजकिरिया खर्च बापत ५० हजार रुपैंया हस्तान्तरण गरिएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका ताप्लेजुङस्थित कार्यालय प्रमुख शर्मिला भण्डारीले बताउनुभयो । सिटिजन बाल भबिष्य जीवन बीमा योजना अनुसार प्रस्तावकको मृत्यु भएमा मासिक आयलाभ देखि बीमालेख परिपक्व हुने मिति वा बीमितको मृत्यु जुन अघि हुन्छ, सो अवधि सम्मको बीमाङ्क रकमको १ प्रतिशतका दरले हुने रकम अनुसार ३ हजारका दरले मासिक रुपमा बीमित बच्चाको खातामा रकम जम्मा हुने छ ।
अमृत र पदमकुमारीका छोरा सुदिशको ३ लाख रुपैंयाको बीमा भएकोमा बिमित व्यक्तिका प्रस्तावक पदमकुमारीको मृत्युपछि सुदिशकोतर्फबाट भुक्तानी हुनुपर्ने बीमा बापतको प्रिमियम रकम अब सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आफैंले व्यहोर्ने छ । अर्थात् कम्पनीले बाँकी अवधिको प्रिमियम अंक मिनाह गरेको छ । अब सुदिशको खातामा मासिक रुपमा ३ हजार रुपैंया इन्स्योरेन्स कम्पनीले जम्मा गरिदिने छ भने अबको १३ बर्ष सम्म कम्पनी आफैंले बिमित व्यक्तिको प्रिमियम शुल्क बापतको २३ हजार २ सय ९२ रुपैंयाका दरले रकम तिरिदिने सिटिजन लाइफ इन्स्योरेन्सले जनाएको छ । मृत्यु दावी भुक्तानी कार्यक्रममा बोल्दै फुङलिङ नगरप्रमुख मादेनले जीवन बीमा जोखिम बहन र सुरक्षणका निम्ति उपयुक्त हुने बताउनुभयो ।
नगर उपप्रमुख भीमादेवी ओझाले जीवन बीमा जीवन समाप्ति पर्यन्त पनि आफ्ना सन्ततिका लागि जोखिम भार घटाउने एक महत्वपूर्ण उपायको रुपमा रहने बताउनुभयो ।