डिभोर्सपछि मुम्बईबाट छोराछोरीसँग नेपाल घुम्न आएका अशोकको विमान दुर्घटनामा निधन - Epathivara

काठमाडौँ — आइतबार मुस्ताङको थासाङ गाउँपालिका-२ सानुसरेमा भएको तारा एयरको विमान दुर्घटनामा चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भएको छ । जसमा धनुषाका एकै परिवारभित्रका आफन्तसमेत गरी ७ जनाको मृत्यु भएको छ । त्यस्तै गोरखाका एकै घरका ४ जनाको समेत दुर्घटनामा मृत्यु भएको छ । त्यस्तै भारतका ४ जना र जर्मनीका २ जनाको पनि दुर्घटनामा परी मृत्यु भएको एयरलाइन्सले जनाएको छ ।

 

दुर्घटनामा ज्यान गुमाउने भारतीय परिवार भने पुनर्मिलनका लागि नेपाल भ्रमणमा आएको थियो । सम्बन्धविच्छेद भइसकेका दम्पती छोराछोरीसँग नेपाल घुम्न आएका थिए । ५४ वर्षीय अशोककुमार त्रिपाठी, उनकी पूर्वश्रीमती ५१ वर्षीया वैभवी बेन्द्रे, २२ वर्षीय छोरा धनुष र १५ वर्षीया छोरी रितिका १० दिने नेपाल भ्रमणमा आएका हुन् । त्रिपाठी परिवारको यात्रा व्यवस्थापनको जिम्मा लिएको कैलाश भिजन ट्रेकका प्रबन्ध निर्देशक सागर आचार्यका अनुसार उनीहरू मे २७ मा काठमाडौं आइपुगेका थिए । उनीहरू पोखरा र मुस्ताङपछि काठमाडौं फर्किएर नगरकोटलगायतका ठाउँ घुम्ने योजनामा थिए । आचार्यले भने, ‘उहाँहरू २७ तारिखमा आउनुभएको हो । २८ मा पोखरा जानुभयो । २९ मा पोखराबाट जोमसोमका लागि उड्नु भएको हो । तर नसोचेको दु:खद घटनामा पर्नुभयो ।’

 

त्रिपाठी परिवार काठमाडौंबाट पोखरासम्म गाडीमै गएको थियो । उनीहरूको लगेज आफूसँगै रहेको पनि प्रबन्ध निर्देशक आचार्यले बताए । ‘उहाँहरू गाडीमा जानुभयो । म हिजो बिहानै फ्लाइटबाट पोखरा गएको थिएँ । उहाँहरूले लगेजको जिम्मा पनि हामीलाई नै दिनु भएको थियो । उहाँकी बहिनीसँग कुराकानी भइसकेको छ,’ आचार्यले भने ।

 

केही दिनअघि मात्रै भएको थियो डिभोर्स

अशोक र वैभवी अदालतको आदेशअनुसार केही दिनअघि मात्रै छुट्टिएका थिए । भारतीय सञ्चारमाध्यमहरूका अनुसार अशोक ओडिसामा एउटा कम्पनीमा काम गर्थे । वैभवी भने छोराछोरीसहित मुम्बईको थाने क्षेत्रमा बस्थिन् । उनीहरू अदालतकै आदेशअनुसार नै ‘गेट टुगेदर’ मा थिए । थानेको कपुरबावडी प्रहरी चौकीका सिनियर इन्सपेक्टर उत्तम सोनावानेका अनुसार छुट्टिइसकेपछि पनि अशोक र वैभवी १० दिन छोराछोरीसँगै बस्नुपर्ने भएपछि नेपाल भ्रमणमा आएका थिए ।

 

कैलाश भिजन ट्रेकका प्रबन्ध निर्देशक सागर आचार्य मे २७ मा त्रिपाठी परिवारसँगै खाना खाएका थिए । आचार्यका अनुसार सबै जना मुक्तिनाथ र जोमसोम जान निकै उत्साहित थिए । उनी भन्छन्, ‘उहाँहरू अघिल्लो दिन पशुपतिनाथमा आरती हेर्न पनि जानुभयो । त्यसपछि गाडीबाटै जानुभयो । पोखराबाट जोमसोमका लागि जहाज उड्ने बेलामा पनि अशोकजीले मलाई फोन गरेर सबै कुरा ठीक छ भन्नु भएको थियो ।’ यदि सबै कुरा ठीकै भएको भए र सबैथोक योजनाअनुसार नै चलेको भए नेपाल घुमीवरी त्रिपाठी परिवार जुन ७ तारिखमा मुम्बई फर्किन्थ्यो ।

ekantipur

 

प्रतिक्रिया

सम्बन्धित खवर