काठमाडौं : सरकारले वृद्धभत्ता दिने उमेर घटाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले ७० वर्षबाट सीमा झारेर ६८ वर्षमा वृद्धभत्ता दिने घोषणा गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० का लागि अनुमानित आयव्यय पेश गर्दै ६८ वर्ष माथिका व्यक्तिका लागि वृद्धभत्ता दिने व्यवस्था गरेका हुन् । वृद्धभत्ता लिन चाहनेलाई सरकारले सम्मान दिने पनि बताएको छ। यसअघि नेकपा एमाले सरकारमा हुँदा ७० वर्ष पुगेकालाई वृद्धभत्ता दिने व्यवस्था गरिएको थियो । अर्थतन्त्र संकटमा परेको वेलामा सरकारले वृद्धभत्ता दिने उमेर घटाउँदा देशको अर्थतन्त्रमा धक्का लाग्ने भन्दै अहिले भने आलोचना भइरहेको छ ।
एमालेका नेता स्व. मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा ०५१/५२ बाट एक सय रूपैयाँबाट वृद्धभत्ताको शुरुवात गरिएको थियो। तर पछिल्लो समय वृद्धभत्तालाई भोटको राजनीतिका लागि लोकप्रिय माध्यम बनाउँदै लगिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूलाई वृद्धभत्ता दिने पार्टीका रुपमा चिनाउँदै भोट मागिरहेको छ भने अरु दलहरू पनि त्यसलाई अन्धाधुन्द अनुशरण गर्नमा केन्द्रित छन् । स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनेको नेपाली कांग्रेसले आसन्न प्रदेश र संघको निर्वाचनलाई लक्षित गर्दै लोकप्रियताका लागि वृद्धभत्ता दिने उमेर घटाएको हो । यसअघि देउवा नै प्रधानमन्त्री हुँदा ६५ मै वृद्धभत्ता दिने प्रक्रिया अगाडि बढाएको भएपनि एमाले नेतृत्वको सरकारले ७० वर्षमै पुर्याएकाे थियो ।
वृद्धभत्ता लिने उमेरका शीर्ष नेताहरू
सरकारले वृद्धभत्ता दिने उमेर घटाउँदै गर्दा राजनीतिक दलका शीर्ष नेताहरू पनि वृद्धभत्ता लिने उमेर पार गरिसकेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवादेखि पूर्वप्रधानमन्त्रीसहित राजनीतिमा सक्रिय नेताहरूले वृद्धभत्ता लिने उमेर पार गरिसकेका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले ७५ वर्ष पार गरिसकेका छन् । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली विसं २००८ साल फागुन ११ मा जन्मिएका हुन्। उनले ७० वर्ष पार गरिसके । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विसं २०११ साल मंसिर २६ गते जन्मिएका हुन्। उनी पनि ६८ वर्ष पार गरिसकेका छन् ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विसं २००९ फागुन २६ गते जन्मिएका हुन् । उनी पनि ७० वर्ष पुगिसकेका छन् । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल २००६ साल चैत ६ गते जन्मिएका हुन् । उनले पनि ७३ वर्ष पार गरिसके । पूर्वप्रधानमन्त्री तथा बाबुराम भट्टराई २०११ असार ४ मा जन्मिएका हुन्। उनी पनि यही असारमा ६८ पुग्दैछन्। उनी सरकारले ६८ वर्षमा वृद्धभत्ता दिने सरकारको घोषणाको विरोध गर्छन् ।
उनले आइतबारको संसद बैठकपछि बाहिरिने क्रममा भने, ‘सामाजिक सुरक्षाजस्ता विषयहरूमा पनि निरन्तरताका कुरा छन् । एउटा कुरा मैले भन्नुपर्छ, म पनि अब ६८ वर्ष पुग्दैछु । यो घटाउनु आवश्यक थिएन। मेरो विचारमा यस्तो छरिएका सामाजिक सुरक्षा भत्ताभन्दा एकीकृत प्रकारको सामाजिक सुरक्षा आउनुपर्थ्यो ।’ उनले आफूले वृद्धभत्ता लिएर जनतामाथि बोझ थोपर्न नचाहने प्रष्ट पारे । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ६८, एमाले उपाध्यक्षद्वय सुवास नेम्वाङ र अष्टलक्ष्मी शाक्य ६९ वर्ष पुगिसकेका छन्। अर्का उपाध्यक्ष रामबहादुर थापा बादल पनि ६८ वर्ष प्रवेशको चरणमा छन् ।
कांग्रेस नेता शेखर कोइराला र अर्जुननरसिंह केसी पनि ७१ पुगिसकेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर ७० वर्ष पुगिसकेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि ६८ वर्ष प्रवेशको चरणमा छन्। वृद्धभत्ता लिन उमेर पुगेका अधिकांश शीर्ष नेताहरू अझै पनि सांसदको भूमिकामा छन् । सरकारको दोहोरो सुविधा लिन नमिल्ने भएकाले नेताहरूले हालसम्म वृद्धभत्ता बुझेका छैनन् ।