काठमाण्डाै – मुस्ताङको थासाङ गाउँपालिका २ सानोसरेमा हिजाे आइतवार भएको तारा एअरको जहाज दुर्घटनामा ज्यान गुमाएकामध्ये १० जनाको शव काठमाण्डाै ल्याइएकाे छ ।
२२ जना सवार दुर्घटनामा परेको विमानमा २१ जनाको शव भेटिएको र त्यसमध्ये पहिलो चरणमा दश जनाको शव काठमाण्डाै ल्याइएकाे छ । प्रतिकूल मौसमका कारण अर्का एक जनाको शव खोजी भइरहेको र भेटाउन नसकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ । केन्द्रका अनुसार दश जनाको शव बोकेर नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टर पोखराबाट काठमाण्डाै आइपुगेकाे हाे । शवको उद्धार तथा आवश्यक व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, सचिव महेश्वर न्यौपानेसहितको टोली बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रमा खटिइरहेको छ ।
भेटिएका शव सनाखत गर्न बाँकी छ । समुद्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको घटनास्थलमा कुहिरो लागेको बताइएको छ । भेटिएका २१ शवमध्ये ११ वटा शव घटनास्थलमै रहेको र मौसममा सुधार आएपछि पोखरा ल्याइने उद्धार टोलीले जनाएको छ । मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा आज बिहान भेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो । पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एअरको ९ एनएइटी कलसाइन भएको विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो । जहाजमा चालक दलका तीन जना सदस्य, १२ जना नेपाली, चार जना भारतीय र दुई जना जर्मनी नागरिकसहित २२ जना सवार रहेका थिए ।