फुनपा ४ का वडाध्यक्ष पालुंवा भन्छन्: नगरपालिकाले कृषकको उत्पादन खरिद गर्नुपर्छ - Epathivara

पाथिभरा संवाददाता
ताप्लेजुङको सदरमुकाम समेत रहेको फुङ्लिङ नगरपालिका जिल्लाको एकमात्र नगरपालिका हो । विषेशगरी फुङ्लिङ नगरपालिकाको पनि वडा नं ४ र ५ ले बजारक्षेत्र ओगटेको छ । यी दुई मध्ये वडा नं ४ का नवनिर्वाचित वडाध्यक्ष हुन दुर्गा पालुंवा । बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा गठबन्धन तर्फका वडाध्यक्षका उम्मेदवार टिकाराम गुरुङलाई पराजित गर्दै पालुंवा नेकपा एमालेबाट विजयी भएका हुन् । नगरपालिकाको मुट रहेको बजार क्षेत्रलाई विषेशगरी पर्यटक मैत्री बनाउने उनको लक्ष्य रहको छ ।

‘हाम्रो वडा नं ४ फुङलिङ नगरपालिकाको मुटु रहेको बजारक्षेत्र पनि हो । यहाँ पाथिभरा आउने देखि लिएर कञ्चनजंघा घुम्न आउनेको पनि प्रवेशद्धार नै छ ।’ वडाध्यक्ष पालुंवाले भने ‘अब नगरपालिकाको आन्तरिक आय बढाउने र उहाँका व्यापारी–व्यावसायी साथै आम नगरवाशीको आयश्रोत बढाउनको लागि यहाँ पर्यटकहरु एकदिन रहने गरिको व्यवस्था गर्नुपर्छ ।’

पर्यटकलाई एकदिन भएपनि यहाँ राख्नका लागि भौतिक तथा सामाजिक विकासको जरुरी रहेको उनले बताए । जसका लागि वडाको तर्फबाट गर्न सक्ने आफुँले गर्ने र नगरपालिकाले गर्ने विषयमा कार्यपालिकामा विषेश पहल गरेर अघि बढ्ने पालुंवा बताउँछन् ।

‘हामीले वडाको तर्फबाट बजार क्षेत्रमा डस्बिन राख्ने, सार्वजनिक स्थानमा फ्रि वाईफाईको व्यवस्था, नागरिक सहायता कक्ष स्थापना गर्ने लगायतका काम गर्ने योजनामा छु ।’ वडाध्यक्ष पालुंवाले भने ‘अन्य ठुला विषयमा म कार्यपालिका सदस्य पनि भएको हिसावले कार्यपालिका बैठकमा जोडतोडका साथ कुरा उठाउँछु । हामीले नगरपालिकाको समग्र विकास गर्ने हो भने– पर्यटन, शिक्षा, कृषी, स्वास्थ्य लगायतका सामाजिक विषयमा बढि ध्यान दिनुपर्छ ।’

कार्यपालिका बैठकमा कृषी तर्फ कोल्ड हाउस बनाउनुका साथै नगरपालिकाले नै कृषकले उत्पादन गरेको कृषीउपजलाई खरिद गर्ने व्यवस्था मिलाउन आवाज उठाउने उनले बताए ।

‘हाम्रा कृषकले आफ्नो थोरै उत्पादन पनि बोकेर तोक्मे हटियामा ल्याएर दिनभर बसेर बेच्नुपर्ने अवस्था छ । कहिले विक्रि पनि हुँदैन ।’ वडाध्यक्ष दुर्गा पालुंवाले भने ‘हामी नगरपालिकाले नै खरिद गरिदिने व्यवस्था गर्यौँ भने कृषकलाई पनि सहज हुन्छ । बजारको सुनिश्चितता भएपछि उहाँहरुले पनि अझै धेरै उत्पादन गर्नुहुन्छ । यहाँका नागरिकको पनि आयश्रोत बढ्छ ।’

कृषकलाई अनुदान दिनुको साटो उनीहरुले उत्पादन गरेको कृषीउपजलाई नगरपालिकाले बजारको सुनिश्चितता गरिदिन पाए त्यो कार्यक्रम चाहिँ प्रभावकारी हुने उनको दाबी छ ।
यस्तै नगरका नागरिकको शिक्षाको लागि नगरका सवै सामुदायिक विद्यालयमा अंग्रजी माध्यमबाट पठनपाठनको व्यवस्था गर्नुपर्ने उनको योजना छ । ‘आज भानु जन माध्यमिक विद्यालयमा करिब २ हजार विद्यार्थी रहेकाछन् । विद्यार्थीले भर्ना पाउन पनि गाह्रो अवस्था छ तर सदरमुकाम नजिकैको जनता, युवावर्ष र वासु माविमा विद्यार्थीको संख्या न्यून रहेको छ ।’ वडाध्यक्ष दुर्गा पालुंवाले भने ‘अब ती सहित नगरक्षेत्रका सवै विद्यालयमा अगं्रेजी माध्यमबाट पनि पठनपाठनको व्यवस्था गर्न सके । महंगो शुल्क तिरेर निजी विद्यालयमा आफ्ना बालबालिका पढाउनु पर्ने थिएन । अनि भानु माविमा यति धेरै विद्यार्थीको चाप पनि पर्ने थिएन ।’

यी कार्यक्रम सँगै युवा वडाध्यक्ष भएको हैसियतले नयाँ र जनमूखी कार्यक्रम ल्याउनुपर्नेमा उनको जोड छ । कार्यपालिका बैठक साथै नगरपालिकाको बजेट बनाउने समय भएकाले यी विषयमालाई जोडतोडले उठाउने उनले बताए । कुराकानीमा आधारित

प्रतिक्रिया

सम्बन्धित खवर