दार्चुलाका दुईवटा अन्तर्राष्ट्रिय झोलुङ्गे पुलहरुको औपचारिक उद्घाटन गरिएको छ । ब्यास गाउँपालिकाको वडा नं ६ मा रहेको बडुगाउँ र भारतको ऐलागाड जोड्ने सीमा मा पुल तथा मालिकार्जुन गाउँपालिकाको वडा नं ६ को बाकु र भारतको द्धालसेरा जोड्ने सीमा मा पुलको दुबै देशका अधिकारीहरुले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
बडुगाउँमा रहेको झोलुङ्गेपुल झण्डै एक वर्ष अघि निर्माण सम्पन्न गरिएको भएपनि बाकुमा रहेको पुल निर्माण हुन नसक्दा बडुगाउँको पुल सञ्चालनमा ढिलाइ भएको थियो । सीमा मा पुल सँगै नेपाली सुरक्षाकर्मीको भवन, चेकपोष्ट तथा भारतीय सुरक्षाकर्मी एसएसबीको भवन, चेकपोष्ट समेत नेपाल सरकारले नै निर्माण गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारको तुइन मुक्त कार्यक्रम अन्र्तगत महाकाली नदीमा रहेका तुइन हटाउनका लागि दार्चुलाका ४ ठाउँमा सस्पेन्सन बृज डिभिजनले अन्तराष्ट्रिय सीमा मा पुल राख्ने कार्य अघि बढाएको थियो । जस अन्र्तगत मालिकार्जुन ६ बाकु र व्यास ६ बडुगाउँमा एउटा प्याकेजमा रहेका पुलहरु निर्माण सम्पन्न भइसकेको छ । अन्य दुई पुलहरु व्यास ४ मलघट्टे र व्यास २ मालघाटमा निर्माणकार्य जारी रहेको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले तुईनको प्रयोग गरि महाकाली पारि आवत जावत गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताएका छन् । यसले दुबै देशका स्थानीलाई आवत जावतमा सहजता ल्याउने अपेक्षा गरिएको बताएका छन् । भारतको पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी आसिस चौहानले सीमा पुलले दुई देशको सम्बन्ध अझ सुधार हुने बताएका छन् । सीमा पुलको सुरक्षाका लागि दुबै देशका सुरक्षाकर्मीहरु तैनाथ गरिएको चौहान ले बताएका छन् । व्यास गाउँपालिका अध्यक्ष मंगल सिह धामीले तुईन विस्थापित गरिदिएकोमा नेपाल सरकारलाई धन्यबाद दिएका छन् । पुलको संरक्षण र पुल छेउमा सहज बाटोघाटो बनाउने स्थानीय सरकारको जिम्मा भएकाले आफुले सोही अनुसार कार्य गर्ने बताएका छन्।
दुईवटा सीमापुल सञ्चालनमा आएसँगै दार्चुलाबाट भारत जोड्ने ८ वटा सीमापुल सञ्चालनमा आएका छन् । नेपालतर्फ राम्रो बाटोघाटो नहुदाँ व्यास क्षेत्रका नागरिकहरु बर्षाेदेखि तुईन तर्दै आइरहेका छन् । सरकारले तुईन मुक्त भनी सीमा मा पुल सञ्चालन गरेपछि नेपाली नागरिकहरुलाई स्वदेशबाटै भएर जान सक्ने किसिमको सडक निर्माण गर्नु आवश्यक रहेको छ ।