तेह्रथुम — स्थानीय तह निर्वाचनको केही दिनअघि सत्ता गठबन्धन दलका जिल्ला तहका नेताबीच एउटा सहमति भयो । सोही सहमतिबमोजिम नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दल सिट बाँडफाँटपछि चुनावमा होमिए ।
गठबन्धन दलभित्र रहेका कांग्रेस र माओवादी केन्द्रलाई चुनावी तालमेलले निकै फाइदा पनि पुर्यायो । जिल्लामा प्रभाव कम हुँदै गएको माओवादी केन्द्रले आठराई र फेदाप गाउँपालिका उपाध्यक्षमा जित हासिल गर्यो । एमालेको पकड क्षेत्र मानिँदै आएका यी दुवै गाउँपालिका प्रमुखमा कांग्रेस विजयी भयो । दुवै दलले चुनाव जित्नुको कारण थियो- दलीय गठबन्धन ।
गठबन्धन दलले स्थानीय तहको निर्वाचनपछि गठन हुने जिल्ला समन्वय समितिको प्रमुख नेकपा एकीकृत समाजवादीलाई दिने पूर्वसहमति गरेका थिए । सोही सहमतिबमोजिम नेकपा एकीकृत समाजवादीले आठराई गाउँपालिका अध्यक्ष रहेका मानबहादुर लिम्बुलाई राजीनामा गराएर वडा नं. ७ को सदस्यमा उठायो । लिम्बुलाई वडा सदस्यमा उठाउने र जिल्ला समन्वय समितिको प्रमुख बनाउने एकीकृत समाजवादीको उद्देश्य थियो । तर‚ तिनै लिम्बु वडा सदस्य पदमा पराजित भएपछि आफ्नो भागमा परेको समन्वय समिति प्रमुख कसलाई बनाउने भन्ने तनावमा नेकपा एकीकृत समाजवादी परेको छ ।
लिम्बु वडा सदस्यमा पराजय भएपछि सो पार्टीमा पद सुहाउँदो व्यक्ति नभएको भन्दै गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले सहमतिविपरीत आफ्नो दलबाट समन्वय प्रमुख बनाउने कसरत सुरु गरेको छ । सहमतिविपरीत कांग्रेसले समन्वय प्रमुखको दाबी गरेपछि गठबन्धन दलभित्रै विवाद बढेको हो । ‘निर्वाचनपूर्व हामीबीच समन्वय समितिको प्रमुख नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भएकै हो‚’ कांग्रेसका युवा नेता एवं महाधिवेशन प्रतिनिधि सन्तोष सुब्बाले भने‚ ‘तर‚ जो व्यक्तिमा सहमति भएको थियो; उही नै वडा सदस्यमा पराजित भएपछि समस्या देखिएको हो ।’लिम्बुको पराजयपछि पद सुहाउँदो व्यक्ति एकीकृत समाजवादीमा नभएको दाबी कांग्रेसको छ ।
नेकपा एमालेका जिल्ला सचिवसमेत भइसकेका र पाँच वर्ष स्थानीय तहको नेतृत्व समेत गरेर अनुभव सम्हालिसकेका व्यक्ति समन्वय प्रमुखमा लैजाँदा राम्रो हुने भन्दै गठबन्धन दलबीच निर्वाचनपूर्व सहमति जुटेको थियो । तर‚ तिनै सम्भावित व्यक्ति वडा सदस्यमा पराजित भएपछि गठवन्धन दल नयाँ सम्भावित व्यक्तिको खोजीमा लागेका छन् ।-Ekantipur