हङकङको नयाँ नेतामा जोन ली चयन - Epathivara

हङकङको नयाँ नेतामा पूर्व सुरक्षा प्रमुख जोन ली चयन भएका छन् । आफूमात्र एकल उम्मेदवार रहेको एउटा बन्द चुनावी प्रक्रियामार्फत ली हङकङको नयाँ नेता चुनिएका बीबीसीले जनाएको छ ।

लीको नियुक्तिलाई हङकङमा आफ्नो पकड बलियो गर्ने चिनियाँ कदमका रूपमा हेरिएको छ । चीनका प्रखर समर्थक ली खासै लोकप्रिय नभएका बीबीसीले जनाएको छ । तर नागरिकसँग प्रत्यक्ष मताधिकार नरहेको हङकङमा त्यसको विशेष अर्थ हुँदैन ।

हङकङको नेता चयन गर्ने जिम्मेवारी एउटा १५ सय सदस्यीय समितिमा छ । जसमा सबैजसो चीनका समर्थकहरू छन् । लीले सन् २०१७ देखि हङकङको प्रमुख कार्यकारी रहेकी क्यारी लामलाई विस्थापित गर्नेछन् ।

लीले यसअघि सन् २०१९ को लोकतन्त्र समर्थकहरूको प्रदर्शन नियन्त्रणको जिम्मेवारी सम्हालेका थिए । उनले सन् २०२० मा एउटा विवादास्पद राष्ट्रिय सुरक्षा कानुन लागू गर्न समर्थन गरेका छन् । जसले हङकङको स्वायत्ततालाई घटाएको छ ।

चीनका नीतिहरूप्रति बलियो समर्थनका कारण लीको नेतृत्वले अर्धस्वायत्त क्षेत्र हङकङमा अझ कठोर चिनियाँ नियन्त्रण सुरु गर्न सक्ने डर उत्पन्न भएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर