जनकपुरधाम : सिरहामा अज्ञात समूहले धारिलो हतियार प्रहार गरेर मृत छोडिएको अवस्थामा बुवा र छोरा आफ्नै कोठामा फेला परेका छन् ।
घरमा सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका-१ महनौरका करिब ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्तकुमार पाल मृत फेला परेका हुन् । सन्तको विवाह जेठ ११ का लागि तय भएकाले स्थानीय महिलाहरू विवाह गीत गाएर आ–आफ्नो घर गएपछि बुवा छोरा करिब १२ बजे सुतेका थिए । छुट्टाछुट्टै कोठामा सुतेका बुवा र छोराको सुतिरहेकै ठाउँमा धारिलो हतियार प्रयोग भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले घटनाबारे तत्काल केही बताउन नसकिने जानकारी दिए । प्रवक्ता बुढाथोकीले प्रहरीले घटना सम्बन्धमा अनुसन्धान गरिरहेको र यसका लागि तालिम प्राप्त कुकुरको पनि सहयोग लिइएको जानकारी थाहाखबरलाई दिए ।