ताप्लेजुङ । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित ताप्लेजुङका नगरप्रमुख तथा गाउँपालिका अध्यक्षले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकाछन् । शुक्रबार मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस प्रकाश राउतले शपथ ग्रहण गराएका हुन् ।
फुङलिङ नगरपालिका प्रमुख अमिर मादेन, सिदिंवा गाउँपालिका अध्यक्ष मानबहादुर राई, सिरिजंघा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान, पाथिभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू, मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की, मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङ् विर हाङ्गाम, मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेम र आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमूले शपथ ग्रहण गरेका हुन् ।
प्रमुख तथा अध्यक्षले शपथ ग्रहण गरेसँगै अब पालिकाका उपाध्यक्ष सहित वडाध्यक्ष तथा वडा सदस्यलाई प्रमुख तथा अध्यक्षले शपथ ग्रहण गराउने छन् । फुङ्लिङ नगरपालिकाका मेयर अमिर मादेनले भने शुक्रबार नै उपमेयर सहित वडाध्यक्ष र वडासदस्यहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराए ।
अन्यले भने शनिवार गाउँपालिकाको केन्द्रमा पुगेर पदभार ग्रहण गर्ने तयारी गरेकाछन् । यता मुख्य निर्वाचन अधिकृत राउतले नवनिर्वाचित जनप्रतिनिधीहरुले पदभार ग्रहण गरेसँगै कार्यपालिका गठन लगायतका कार्यक्रमलाई अघि बढाउने बताए ।
एक नगरपालिका सहित ९ स्थानीय तह रहेको यहाँ नगरपालिका सहित ६ स्थानीय तहमा गठबन्धनले र ३ वटामा नेकपा एमालेका उम्मेदवार प्रमुख तथा अध्यक्षमा निर्वाचित भएकाछन् ।