ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं ८ दोखुमा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । नेपाली काँग्रेसका उम्मेदवार क्षितिज सुनुवारले एमाले–माओवादी गठबन्धनका वडाध्यक्षका उम्मेदवार भोला पौडेललाई ३ सय १९मतको भारी मतान्तरले पछि पार्दै वडाध्यक्षमा विजयी बनेका छन् । उनले १ हजार ९७ मत खसेकोमा ६ सय ६५ मत प्राप्त गरे भने पौडेलले ३ सय ४६ मत प्राप्त गरे ।
नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई पराजित गर्दै खुला सदस्यमा कांग्रेसका कृष्ण बहादुर गुरुङ र भुविन्द्र मगर, महिला सदस्यमा हेमन्ता मिश्र (पौडेल) र दलित महिला सदस्यमा सम्झना वि.क. बराईली निर्वाचित भए ।
वडाध्यक्षमा निर्वाचित सुनुवार २९ वर्षका हुन् । उनले स्थानीय चुनाव अघिपनि विभिन्न सामाजिक सेवा गर्दै आएका थिए । कोभिड १९ बाट प्रभावित परिवारलाई खाद्यान्न वितरण देखि युवा लक्षित खेलमैदान निर्माण तथा खेल सामग्री वितरण गर्दै आएका उनले आगामी दिनमा वडाको समग्र विकासका लागि सर्वदलिय संयन्त्र निर्माण गर्ने योजनामा रहेको बताएकाछन् ।