काठमाडौँ — एमाले सांसद योगेश भट्टराईले सत्ता गठबन्धनले एमालेका विरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकका लागि संसद् भवन पुगेका भट्टराईले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै गठबन्धनलाई परास्त गर्दै एमालेले ल्याएको मत परिणाम निराशाजनक नभएको बताए ।
उनले पार्टी हारको कारण उम्मेदवार छनोटमा कमजोरी हुनु रहेको बताए । कतिपय ठाउँहरुमा पार्टीलाई जिताउन नलागी विरोधीहरुलाई जिताउन साँठगाँठ गरिएको पनि उनले बताए ।
उनले भने, ‘यसपटकको निर्वाचन हेर्दाखेरी मुलत्: नेकपा(एमाले)को विरुद्धमा जुन गठबन्धन बनाइयो, एक । दुई, नेकपा(एमाले)का विरुद्ध राज्यसत्तालाई जसरी एमालेका विरुद्ध दुरुपयोग गरियो पुलिस प्रशासन, कर्मचारीतन्त्रदेखि लिएर अन्य विभिन्न निकायहरुलाई । यो परिस्थितिमा नेकपा(एमाले)ले जुन परिणाम ल्याएको छ यो कुनै निराशाजनक परिणाम होइन । आन्तरिक कारण पनि छन् । आन्तरिक हिसाबले विशेष गरेर उम्मेदवार छनौटमा कतिपय ठाउँमा हाम्रो गल्ती भएको देखिन्छ ।
त्यसलाई सच्याउनुपर्ने हुन्छ । त्यस्तै पार्टीले उम्मेदवारी दिइसकेपछि त्यो उम्मेदवारको पक्षमा जसरी पार्टीपंक्ति एकतावद्ध भएर लाग्नुपर्ने हो कतिपय ठाउामा त्यो देखिएन । एमालेकै पनि कतिपय ठाउँमा बागी उम्मेदवारहरु देखिए । आफ्नो उम्मेदवारलाई मत नहाल्ने । विरोधी उम्मेदवारहरुसाग साँठगाँठ गर्ने, यस्ता खालका प्रवृत्ति पार्टीभित्र पनि देखिएका छन् । यसलाई हामिले समिक्षा गर्नुपर्छ ।’
सांसद भट्टराईले काठमाडौं महानगरपालिकामा कांग्रेस, एमाले लगायतका ठूला दलहरुलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारको मत बढी आउनु दलहरुको निम्ति खतराको घण्टी भएको टिप्पणी गरे ।-Ekantipur