काठमाडौं : स्थानीय तह निर्वाचनअन्तर्गत बिहीबार दिउँसोसम्म ५७० पालिकाको परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले बिहीबार नियमित पत्रकार सम्मेलन गरेर ५७० तहको मतगणना सम्पन्न भएर नतिजा आएको जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले १७४/१७४ मेयर र उपमेयर र ३९६/३९६ अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएको जानकारी दिए । उनकाअनुसार ५ हजार ६५९ वडाध्यक्ष निर्वाचित भएका छन् । महिला सदस्यमा ५ हजार ६५३ जना निर्वाचित भएका छन्। दलित महिला सदस्यमा ५ हजार ५५६ जना निर्वाचित भएका छन् । अन्य वडा सदस्य १ हजार २९५ जना निर्वाचित भइसकेका छन् । यो गरेर कुन २९ हजार ३०३ जना जनप्रतिनिधि निर्वाचित भएको आयोगले जनाएको छ ।
७५३ स्थानीय तहमा कुल ३५ हजार २२१ जनप्रतिनिधि निर्वाचित हुनुपर्छ । अझै करिब ६ हजार जनप्रतिनिधि निर्वाचित गराउन मतगणना चलिरहेको छ । आयोगका प्रवक्ता पौडेलले ८० प्रतिशत हाराहारीको मतपरिणाम आइसकेको र साँझसम्म ८५ प्रतिशत पालिकाको नतिजा आउने बताए । विभिन्न कारणले सम्पन्न हुननसकेको मतगणना स्थलमा बढीभन्दा बढी गणक परिचालन गरेर गणना गर्न आयोगले मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । पुन: चुनाव हुने र भएका स्थलमा मतपेटिका प्राप्त भएको चार दिनभित्र मतगणना सकिनेरी निर्देशन दिइएको प्रवक्ता पौडेलले जानकारी दिए ।