विराटनगर : प्रदेश-१ का दुई महिला गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका छन् । नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य रहेकी शान्ता आङबुहाङ ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी छन् ।
उनले २ हजार ८१९ मत प्राप्त गरी नेकपा माओवादी केन्द्रका प्रजिन हाङवाङलाई हराएकी हुन् । हाङवाङले २ हजार ४१४ मत प्राप्त गरेका थिए। गाउँपालिकाको अध्यक्षमा एमालेकै दिपेन्द्र पोमु निर्वाचित भएका छन् । पोमुले ३ हजार ०३६ मत प्राप्त गर्दा कांग्रेसका विश्वनाथ सिटौलाले २ हजार ५२६ मत पाएका छन् ।
त्यसैगरी पत्रकार महासंघ सोलुखुम्बु शाखाको पूर्व-उपाध्यक्ष रहेकी विना राई नेचा सल्यान गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी छन् । कांग्रेसबाट उम्मेदवार बनेकी उनले २ हजार ९०६ मत ल्याएर जित दर्ता गर्दा प्रतिस्पर्धी एमालेकी सिर्जना राईले १ हजार ७१८ मत प्राप्त गरिन् ।सो गाउँपालिका अध्यक्षमा कांग्रेसका धनजन राई २ हजार ५७९ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी एमालेका डुफकुमार बाँस्तोलाले २ हजार ३१३ मत पाएका छन् ।
उम्मेदवार बन्नुअघि दुवै महिला पत्रकारले पत्रकार महासंघको जिम्मेवारीबाट राजीनामा दिएका थिए । उनीहरू पत्रकारिता छाडेर राजनीतिमा सक्रिय रहेका थिए ।