ताप्लेजुङ । ताप्लेजुङको चारवटा स्थानीय तहको मतगणना सकिएको छ । गणना भएको चारवटै पालिका गठबन्धनले जितेको हो । पछिल्लो परिणाम अनुसार मिक्वाखोला गाउँपालिकामा नेपाली कांग्रेसका भक्तबहादुर कार्की २ हजार २३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दिवश लिम्बूलाई ५९ मतले पछि पार्दै निर्वाचित भएका हुन् । लिम्बूले १ हजार ९ सय ६४ मत प्राप्त गरे । यस्तै पालिकाको उपाध्यक्ष तर्फ गठबन्धनकै नेकपा माओवादी केन्द्रका डण्डु शेर्पा विजयी भए । शेर्पाले २ हजार १ सय ७४ मत प्राप्त गर्दै उनका प्रतिस्पर्धी एमालेकी मिनाकुमारी केदेमले १ हजार ७ सय ४३ मत प्राप्त गरिन् ।
उता मैवाखोला गाउँपालिकामा माओवादी केन्द्रका विजय प्रकाश वनेम निर्वाचित भएका छन् । २ हजार ६ सय ९ मत प्राप्त गर्दै वनेम विजयी भएका हुन् । एमाले किल्ला भनिदैं आएको मैवाखोलामा यसपटक गठबन्धनले किल्ला भत्काएको छ । वनेमले निवर्तनमान गाउँपालिका अध्यक्ष राजन थत्लुङलाइ पराजित गरे । थत्लुङले २ हजार ५२ मत ल्याए । उपाध्यक्षमा गठबन्धनतर्फ नेपाली काँग्रेसकी कमल कुमारी लिम्बू निर्वाचित भईन् । उनले २ हजार ५ सय ४१ मत प्राप्त गरिन । जहाँ निवर्तनमान उपाध्यक्ष कौशिला थत्लुङलाइ २ हजार १ सय १ मत ल्याईन । मैवाखोला गाउँपालिका एमाले सचिव तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईको गृह गाउँ हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ३२ सदस्यीय गाउँसभा रहने यो गाउँपालिकाबाट अध्यक्ष,उपाध्यक्ष सहित ३२ मध्ये ३१ सभा सदस्य एमालेबाट निर्वाचित भएका थिए । यसपटक भने मैवाखोलाको ६ नम्बर वडा मात्रै जित्यो ।
मेरिङदेन गाउँपालिकामा नेपाली कांग्रेसका गठबन्धनका उम्मेदवार युक हां विर हांगाम डम्बरले २ हजार ८ सय ६९ मतसहित अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका केदारजंग लिम्बूले २ हजार ७ सय ७० मत ल्याएका छन् । उपाध्यक्षमा एकीकृत समाजवादीका दुर्गाप्रसाद श्रेङचोङ्गवाङ २ हजार ५ सय ९८ मत ल्याएर निर्वाचित भए । उनलाई एमालेको समर्थन रहेका स्वतन्त्र उम्मेदवार दावाछिरिङ शेर्पाले चुनौती दिएका थिए । शेर्पा १ हजार ६सय ५७ मत मात्रै प्राप्त गरे । त्यहाँ अध्यक्ष काँग्रेस र उपाध्यक्ष नेकपा एसले पाउने सहमति थियो ।
उता फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका राजन लिम्बू ९मुक्ति० निर्वाचित भएका छन् । लिम्बू २ हजार ६ सय ६० मत ल्याएर निर्वाचित भएका हुन् । उनले निवर्तनमान पालिका अध्यक्ष समेत रहेका नेकपा ९एमाले० उम्मेदवार सरोज लिम्बूलाई ३ सय ४८ मतान्तरले पराजित गरे । सरोजले २ हजार ३ सय १२ मत ल्याएका छन् । उपाध्यक्षमा भने नेपाली कांग्रेसका रविन साम्रा लिम्बू निर्वाचित भएका छन् । उनले २ हजार ३ सय ५८ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेकी शान्ति माया लिम्बू ९पौडेल० ले २ हजार २ सय १२ मत ल्याइन् ।
अब दुई पालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । फुङ्लिङ नगरपालिका र आठराई त्रिवेणी गाउँपालिकाको मतगणना आजै राति सम्ममा आईसक्ने बताईएको छ । फुङ्लिङ नगरपालिकामा नेपाली कांग्रेसको अग्रता रहेको छ भने आठराई त्रिवेणीमा नेकपा एमालेले अग्रता लिएको छ ।
उता सिरिजंघा, सिदिंवा र पाथिभरा याङ्वरक गाउँपालिकाको भने मंगलबार दिउँसोसम्ममा सकिने बताईएको छ । जिल्लाका ५१ वटा वडाको मतगणना सम्पन्न हुँदा नेकपा एमालले २६, नेपाली कांग्रेसले १२, नेकपा माओवादी केन्द्रले ८, नेकपा एकिकृत समाजवादीले २, स्वतन्त्रले २ र संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक स्थानमा जितेको छ ।