ताप्लेजुङ । स्थानीय तहको निर्वाचन अन्र्तगत ताप्लेजुङका दुई पालिकामा मतगणना सुरु भएको छ । जिल्लाको मेरिङ्देन गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकामा गणना सुरु भएको हो । एक नगरपालिका सहित ९ स्थानीय तह रहेको ताप्लेजुङका अन्य पालिकामा भने सर्वदलिय बैठक जारी छ । मतगणनाको प्रारम्भिक नतिजामा गठबन्धन र एमालेले १–१ स्थानमा सुरुवाती अग्रता लिएका छन् ।
मेरिङ्देन गाउँपालिका वडा नं ६ नाल्बुको ५ सय मत गणना हुँदा एमाले उम्मेदवार केदारजंग लिम्बूले २ सय ५० र काँग्रेस उम्मेदवार डम्बर हाङ्गामको २ सय २५ मत रहेको छ । उपाध्यक्षमा गठबन्धन पक्षका नेकपा एसका उम्मेदवार दुर्गाहाङ लिम्बूको २ सय १ तथा एमालेको सर्मथन पाएका स्वतन्त्र उम्मेदवार दावाछिरिङ शेर्पाको १ सय ७१ मत रहेको छ । त्यहाँ वडामा एमालेले अग्रता लिएको छ ।
यस्तै आठराइ त्रिबेणी गाउँपालिका वडा नं ५ बाट सुरु भएको आठराइ त्रिबेणी गाउँपालिकाको मतगणनमा गठबन्धनकातर्फबाट काँग्रेस उम्मेदवार बिश्वनाथ सिटौलाको ६० र एमाले उम्मेदवार दीपेन पोमूको २५ मत रहेको छ । उपाध्यक्षमा गठबन्धन पक्षका माओवादी केन्द्रका उम्मेदवार प्रजीन हाङ्वाङको ६३ र एमाले उम्मेदवार शान्ता आङ्वोहाङको २५ मत रहेको छ । आठराइ त्रिबेणी गाउँपालिका वडा नं ५ मा गठबन्धन पक्षका माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिइरहेका छन् ।