ताप्लेजुङ, वैशाख ३० गते । ताप्लेजुङमा ६४ प्रतिशत मत खसेको छ । ९ वटा स्थानीय तह रहेको यहाँ ८९ हजार ६ सय ८० मतदाता रहेकाछन् । पाथिभरा याङ्वरक गाउँपालिकामा ६१.९९ प्रतिशत, आठराई त्रिवेणी गाउँपालिकामा ६२ प्रतिशत, मैवाखोला गाउँपालिकामा ६५.११ प्रतिशत, सिदिंवा गाउँपालिकामा ६२ प््रतिशत, फक्ताङलुङ गाउँपालिकामा ६५.३५ प्रतिशत, सिरिजंघा गाउँपालिकामा ६२ प्रतिशत मत खसेका जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत दिनेश खनालले जानकारी दिनुभयो । यस्तै जिल्लाको एकमात्र फुङलिङ नगरपालिकामा ६४ प्रतिशत, मेरिङदेनमा ७१ प्रतिशत र मिक्वाखोला गाउँपालिकामा ६५ प्रतिशत मत खसेको हो । जिल्ला निर्वाचन सुरक्षा समितिका अनुसार ताप्लेजुङको मेरिङ्देन–५ थुकिमा र मिक्वाखोला–५ पापुङमा केहि समय मतदान प्रक्रिया अवरुद्ध भएको थियो । थुकिमामा मतदानका क्रममा सामान्य विषयमा र पापुङमा अर्कैको नामबाट मतदान गर्ने प्रयास गरेपछि विवाद भएर केहि समय मतदान प्रक्रिया स्थगित भएको हो ।
याङमामा १४ जनाले गरे मतदान
सदरमुकामदेखि सबैभन्दा टाढा रहेको वस्ति याङमामा १४ जनाले मात्र मतदान गरेका छन् । १० पुरुष र ४ महिलाले मतदान गरेको जिल्ला निर्बाचन अधिकृत खनालको भनाई छ । ६० मतदाता रहेको याङमामा मत संकलनका लागि कर्मचारी र सुरक्षाकर्मी गरी ९ जना गएका थिए । उनीहरुका लागि दुई लाख बढी खर्च भएको छ । सदरमुकाम फुङलिङवाट गाडीमा यात्रा गरेर र पैदल हिंडेर तीन दिनमा मात्रै यो वस्तिमा पुगीन्छ ।
हेलिकप्टर नआउने भएपछि मतपेटिका बोकेरै ल्याइदै
याङ्माबाट मतपेटिकालाई निर्वाचन अधिकृतको कार्यालय तापेथेकसम्म बोकेर नै ल्याउने तयारी रहेको बताईएको छ । याङ्मा सहित अन्य चार स्थानको मतपेटिका हेलिकप्टरबाट निर्वाचन अधिकृतको कार्यालयसम्म ओर्साने तयारी गरिएपनि हेलिकप्टर नआउने भएको बताईएको छ । शुक्रबार विहान नै जिल्ला सुरक्षा समितिले सो स्थानमा खटिएका कर्मचारीलाई मतदान सम्पन्न भएपछि बोकेरै ल्याउन जानकारी गराएको थियो । सो वडामा वडाध्यक्ष सहित पाँचैजना जनप्रतिनिधी भने यसअघि नै निर्विरोध निर्वाचित भईसकेकाछन् । जसका कारण सोवडाको दुवै मतदान केन्द्रमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि मात्रै मतदान भएको थियो ।
यस्तै २ सय ७६ जना मतदाता रहेको ओलाङ्चुङगोलामा ८५ मत खसेको छ । ४२ जना पुरुष र ४३ जना महिलाले मतदान गरे । यस्तै १ सय ६६ मतदाता रहेको घुन्सामा ८१ मत खस्यो । जसमा ४४ पुरुष र ३७ महिला छन् । यता ग्याव्लामा भने ३२ जनाले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका सवै मतदान स्थलबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयसम्म भोलि बिहानसम्ममा पुर्याउने र भोली विहानबाट मतगणनाको काम थाल्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।