काठमाडौं । नयाँ मतदाताहरूका लागि निर्वाचन आयोगले आज बुधबार र भोलि (बिहीबार) मतदाता परिचय पत्र वितरण गर्ने भएको छ ।
पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरूलाई आयोगले बुधबार र बिहीवार गरी दुई दिन मतदाता परिचयपत्र वितरण गर्ने भएको हो । आयेगले सम्बन्धित मितदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण गर्ने जनाएको छ । नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका ६ हजार ७४३ वडा भित्रका मतदाता नामवलीमा नाम भएका सबै नागरिकले मतदान गर्न पाउने गरी सबै क्षेत्रमा निर्वाचनको व्यवस्था गरिएको आयोगले जनाएको छ ।
आसन्न स्थानीय तहको निर्वाचनको मतदान यही वैशाख ३० गते शुक्रवार देशभर हुँदैछ । मंगलबार रातिदेखि नै मौनावधि सुरु भइसकेको छ । यो अवधि वैशाख ३० स्थानीय तहको निर्वाचन नसकिउन्जेलसम्मका लागि लागू हुनेछ ।
मतदाता परिचयपत्र नभएकाले पनि मतदान गर्न पाउने
निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र नभएकालाई पनि मतदान गर्न मिल्ने व्यवस्था गर्ने जनाएको छ ।
आयोगले आफ्नो परिचय खुल्ने आधिकारिक कागजातका आधारमा मतदान गर्न दिने तयारी गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । मतदाता परिचयपत्र भएकाहरुले भने सजिलै मतदान गर्न सक्नेछन्। सोमबार नियमित पत्रकार सम्मेलनमा पौडेलले ५ सयभन्दा बढी मतदाता भएका मतदान केन्द्रमा ८ जना र ५ सयभन्दा थोरै मतदाता भएका केन्द्रमा ७ जना कर्मचारी खटिने जानकारी दिएका छन् ।
आयोगले विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएका निर्वाचन आचारसंहिता विपरीतका सामग्री भोलिसम्म हटाउन पनि निर्देशन दिएको छ । आयोगले गत बिहीबारदेखि गरेका महत्त्वपूर्ण निर्णयहरू पनि सार्वजनिक गरेको छ ।