कञ्चनपुर : भीमदत्त नगरपालिका १९ बागफाँटामा नेकपा माओवादी केन्द्र र समाजवादी गठबन्धनका कार्यकर्ताले एमालेका दुई कार्यकर्तामाथि आज कुटपिट गरेका छन् । कुटपिट गरिएकामध्ये एक जनाको टाउकोमा चोट लागेको छ ।
एमालेको चुनावी प्रचारमा जाँदै गरेका अन्जु कार्की चौधरी र राजेन्द्र अवस्थीलाई गठबन्धन कार्यकर्ताले कुटपिट गरेका हुन् । माओवादी केन्द्रका भीमदत्त नगर अध्यक्ष अशोक चन्द र रघुबीर धामी लगायतले उनीहरुलाई कुटपिट गरेको भन्दै प्रहरी बिटमा निवेदन दिएका छन् । कुटपिट गरिएकी कार्की अघिल्लो निर्वाचनमा माओवादी केन्द्र छाडेर एमाले आएकी हुन् । उनी माओवादीको सशस्त्र जनयुद्धकी जन कलाकार हुन् ।
कार्कीको टाउकोमा चोट लागेको छ । महाकाली अस्पतालमा भर्ना गरिएका उनीहरुमध्ये कार्कीलाई धनगढी रिफर गर्ने तयारी भएको छ । नेकपा एमालेका उपसचिव कर्ण बहादुर चन्दले चुनाव हार्ने डरले प्रचारमा जाँदै गरेका आफ्ना कार्यकर्तालाई कुटपिट गरिएको बताए । ‘चुनाव हार्ने भएपछि कुटपिट गरिएको छ’ उनले भने । स्थानीयका अनुसार सिद्धनाथ आधारभूत विद्यालय नजिक गठबन्धनको चुनावी र्याली निकालिरहेका बेलामा बाटोमै उनीहरुमाथि कुटपिट गरिएको हाे ।
चुनावी र्यालीमा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावल, प्रदेश सभा सदस्य लाल बहादुर खड्का लगायतका नेताहरु सहभागी भएका छन् । भीनपा १९ गठबन्धनबाट जग्गु राज चौधरी र एमालेबाट साहेब राना अध्यक्षका उम्मेदवार छन् । अघिल्लो निर्वाचनमा एमालेले वडा अध्यक्ष सहित सदस्यहरु जितेको थियो। कांग्रेस दोस्रो हुँदा माओवादी केन्द्र तेस्रो भएको थियो ।