दश महिनामा एक करोड ३६ लाख रुपैयाँ चामल बिक्याे - Epathivara

ताप्लेजुङ— खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, ताप्लेजुङ शाखाले चालू आर्थिक वर्षको साउनदेखि वैशाख २८ गतेसम्मको अवधिमा करिब एक करोड ३५ लाख ८३ हजार ७५ रुपैयाँ बराबरको चामल बिक्री गरेको छ।

शाखाका सहायक तथा सूचना अधिकारी जलान्धरप्रसाद यादवका अनुसार, कम्पनीले दुई प्रकारका चामल—स्टिम जिरा मसिनो र सोना मन्सुली—बिक्री गर्दै आएको छ। यस अवधिमा ९१२.७५ क्विन्टल स्टिम जिरा मसिनो चामल प्रतिक्विन्टल ९,४०० रुपैयाँका दरले बिक्री भई कुल ८५ लाख ७९ हजार ८५० रुपैयाँ आम्दानी भएको छ। त्यस्तै, ७४६.७५ क्विन्टल सोना मन्सुली चामल प्रतिक्विन्टल ६,७०० रुपैयाँका दरले बिक्री भई ५० लाख ३ हजार २२५ रुपैयाँ आम्दानी भएको छ।

शाखा प्रमुख शर्मिला मिश्रका अनुसार, दसैं–तिहारजस्ता चाडपर्वको अवसरमा छुट मूल्यमा चामल बिक्री गरिएकोले बिक्रीमा वृद्धि भएको हो। ताप्लेजुङ जिल्लाका लागि चामलको कोटा १,५०० क्विन्टल रहेकोमा ५०० क्विन्टल थप गरी कुल २,००० क्विन्टल चामल आयात गरिएको छ। हालसम्म स्टिम जिरा मसिनो १७८.२५ क्विन्टल र सोना मन्सुली १२७.२५ क्विन्टल मात्र मौज्दात रहेको छ।

शाखा प्रमुख मिश्रले चामलको गुणस्तर राम्रो र मूल्य खुला बजारको तुलनामा सस्तो भएकाले बिक्री राम्रो भएको बताउनुभयो। कम्पनीले हाल सदरमुकाम फुङ्लिङबाट मात्र चामल बिक्री गर्दै आएको छ। आगामी योजनामा प्रत्येक स्थानीय तहमा बिक्री केन्द्र स्थापना गर्ने र त्यसअनुसार स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर