ताप्लेजुङ । एसईई परिक्षामा सर्वोत्कृष्ठ नतिजा ल्याउने एक छात्र र एक छात्रालाई फुङ्लिङ नगरपालिकाले ल्यापटप सहित सम्मान गरेको छ । बुधबार सम्मानित हुनेमा भानु जन माध्यमिक विद्यालयका प्रतिमा पुरी र राजिव रनपाल नेपाली रहेका छन् । २०८० सालको एसईई परिक्षामा सामुदायिक विद्यालय तर्फ पुरीले ३.६७ र नेपालीले ३.६१ जिपीए प्राप्त गरेका थिए । उनीहरुलाई फुङ्लिङ नगरपालिकाका मेयर अमीर मादेन, उपमेयर भीमादेवी ओझा र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद गौतमले प्रमाणपत्र र ल्यापटप प्रदान गरे ।
सम्मान कार्यक्रममा बोल्दै मेयर मादेनले विद्यार्थीहरुमा सकारात्मक उत्प्रेरणा जगाउने उद्देश्यले आफ्नो कार्यकालमा यो कार्यक्रम सुरु गरेको बताए । उनले पुरस्कृत हुने विद्यार्थीका अभिभावक र विद्यालय श्री भानुजन माध्यमिक विद्यालयलाई समेत बधाई तथा धन्यवाद दिए । नगरपालिकाले विद्यार्थीलाई सम्मान तथा पुरस्कृत मात्रै नगरेर एमविविएस, कृषी, आईटी तथा हाईड्रोईन्जिनियरीङ लगायतका प्राविधक शिक्षाका लागि छात्रवृत्ति प्रदान गरिरहेका मादेनले बताए ।
सम्मान कार्यक्रममा भानु जन माध्यमिक विद्यालयका प्रधानाध्यापक किशोर कुमार राई, नगर शिक्षा समितिका सदस्यहरु, शिक्षा अधिकृत प्रकाश पौडेल, प्रसाशकिय अधिकृत प्रकाश तामाङ लगायतको उपस्थिति रहेको थियो ।