ताप्लेजुङ — नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव ताप्लेजुङ आएका छन् । पाथीभरा दर्शनका लागि आएका उनले मंगलबार मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की, उपाध्यक्ष डण्डु शेर्पा, प्रमख प्रशासकीय अधिकृत विमल गौतम लगायतको टोलीसँग सदरमुकाम फुङलिङमा भेटवार्ता गरेका छन् । मेवाखोला हिल रिसोर्टमा उनीहरुसँग भेट भएको हो ।
मिक्वाखोला गाउँपालिका ४ साँवामा भारतीय दूतावासले भवन निर्माणका लागि चार करोड रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिका-१ खोक्लिङका लागि पनि प्रस्ताव गरेको छ । यसै विषयमा छलफल भएको गाउँपालिका अध्यक्ष कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिए । पालिका अध्यक्ष कार्कीले राजदूत श्रीवास्तवलाई मायाको चिनो पनि प्रदान गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार उनीहरुको मंगलबार माथिल्लो फेदीमा बस्ने र बुधबार पाथीभरा पुगेर फर्कने तालिका रहेको थियो । तर ढिलोगरी सदरमुकाम फुङलिङ आइपुगेकाले मंगलबार त्यहीं बस्ने निश्चित भएको प्रशासन स्रोतले बताएको छ ।