ताप्लेजुङ: पूर्वमन्त्री तथा प्रजातान्त्रिक योद्धा सूर्यमान गुरुङको निधन भएको छ । विगत लामो समयदेखि अस्वस्थ रहनुभएका गुरुङको ८४ वर्षको उमेरमा मंगलबार निधन भएको हो । बाथ, सुगर लगायतका स्वास्थ्य समस्याका कारण थलिनुभएका गुरुङको हिमाल अस्पताल काठमाण्डौमा उपचारका क्रममा निधन भएको नेपाली काँग्रेस ताप्लेजुङका पुर्व सभापति केशवप्रसाद दाहालले जानकारी दिनुभयो ।
प्रजातान्त्रिक आन्दोलनमा समेत सक्रिय रहनुभएका गुरुङ २०३९ सालदेखि २०४६ साल सम्म तत्कालीन जिल्ला पञ्चायतको सभापति हुनुभएको थियो । वि.स. १९९७ सालमा ताप्लेजुङको फुङलिङमा जन्मिनुभएका गुरुङले वि.स. २०१८ सालमा काँग्रेसले चलाएको सशस्त्र विद्रोहमा ताप्लेजुङ, पाँचथरको नेतृत्व सम्हाल्नुभएको थियो । पार्टीका पूर्व सभापति दाहालका अनुसार उक्त सशस्त्र विद्रोहका क्रममा उहाँ नेतृत्वको समूहले जिल्ला स्थित प्रहरी प्रशासन नै कब्जा गरेको थियो । त्यसबेला कारागारमा रहेका कैदीबन्दीहरू छुटेका थिए । उक्त समयदेखि भूमिगत हुँदै भारतमा निर्वासित जीवन बिताउनुभएका गुरुङले आम माफी पाएर २०२६ सालमा स्वदेश फर्किनुभएको थियो ।
७ वर्ष सम्म जिल्ला पञ्चायतको सभापति पद सम्हाल्नुभएका गुरुङले २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा ताप्लेजुङको क्षेत्र नम्बर २ बाट र २०५६ सालमा भएको आम निर्वाचनमा जिल्लाको क्षेत्र नम्बर १ बाट उम्मेदवार भए पनि दुवै निर्वाचनमा पराजित हुनुभएको थियो । त्यसपछि २०५७ सालदेखि २०६७ साल सम्म १० वर्ष पार्टीको जिल्ला सभापति रहनुभएका गुरुङले पहिलो संविधानसभाको निर्वाचन २०६४ सालमा नेकपा माओवादीका राम कार्कीलाई पराजित गर्दै संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
२०६७ सालमा पार्टीको केन्द्रीय सदस्य समेत बन्नुभएका गुरुङ २०७३ सालमा श्रम तथा रोजगारमन्त्री समेत बन्नुभएको थियो । केही वर्षदेखि काठमाण्डौमै बस्दै आउनुभएका गुरुङका दुई छोरा र तीन छोरी रहेकाछन् । विदेशमा रहेका छोराहरू फर्किएपछि उहाँको दाहसंस्कार गरीने र दाहसंस्कार अघि टिचिङ अस्पतालमा शव राखिने उहाँका भतिज युवराज गुरुङले जानकारी दिनुभयो ।