वनै खायो डढेलोले... - Epathivara

ताप्लेजुङ — पाँचथरको अमरपुर गएका पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्वुका सूर्य खड्काले आइतबार आफ्नो गाउँमूनिको जंगलमा लागेको डढेलोको तस्बिर खिचे । काबेली बजार छेउको पुल तरेर वारिपारि आउजाउ गर्ने उनी डढेलोबाट बच्न खहरेको बाटो घुमेर गाउँ फर्किदै डढेलोबाट बस्ती जोगाउने कार्यमा सक्रिय बने ।

आइतबारै पाथीभरा याङवरक गाउँपालिका–१ नाङखोल्याङको जंगलमा लागेको आगो नियन्त्रणमा लिन फुङलिङ नगरपालिकाको दमकलसहित प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सक्रिय भए ।

तमोर नदी छेउबाट आएको आगो मेची राजमार्ग कटेर उकालो जान नदिन मेवाखा प्रहरी चौकीको समन्वयमा स्थानीय लागि परेका थिए । उनीहरुले अग्नी रेखा कोर्ने, स्याउला पन्छाउनेदेखि माथिबाट तलतिर आगो लगाएर डढेलो बढ्न नदिन प्रयत्न गरे । यदि राजमार्ग कटेर उकालो लागेको भए नाङखोल्याङको बस्ती डढेलोको जोखिममा पर्थ्यो । सडक माथि बस्ती रहेको छ ।

यी दुवै जंगलका डढेलो यो बर्ष मात्रै लागेका भने होइनन् । हरेक वर्ष यो सिजनमा डढेलोले स्थानीयलाई प्रभावित पार्ने गरेको छ । ‘असोजदेखि बर्षा नभएकाले डढेलो नियन्त्रणमा लिन कठिन छ,’ सामदायिक वन उपभोत्ता महासंघका जिल्ला अध्यक्ष सुरज ओझा भन्छन्, ‘जंगल पुरै सुकेको छ, एक ठाउँ डढेलो लागेर हावा चलिदियो भने छिनभरमै नियन्त्रण बाहिर पुग्छ ।’

डिभिजन वन कार्यालय ताप्लेजुङका वन अधिकृत प्रमेश्वर पासवनका अनुसार ताप्लेजुङमा पाँच सय हेक्टरमा डढेलो लागेको अनुमान छ । ‘हामीले तथ्यांक लिने काम गरिरहेका छौं,’ उनले थपे, ‘ठ्याक्कै त आएको छैन, चारदेखि पाँच सय हेक्टर वन जलेको अनुमान छ ।’

स्थानीयले घाँस राम्रो पलाउने आशमा र चुरोट खाएर फाल्दा आगलागी हुने गरेको उनले बताए । अहिलेसम्म डढेलो लगाउनेलाई पक्राउ गरेर कारवाही गरेको तथ्यांक कार्यालयमा छैन । कञ्चनजंघा संरक्षण क्षेत्रले भनें बन डढेलो लगाउनेलाई कारवाही गर्ने गरेको छ ।

भौगोलिक हिसाबले डोल्पा र हुम्ला पछिको तेस्रो ठूलो जिल्ला ताप्लेजुङमा मंसिर/पुषदेखिनै डढेलो लाग्न सुरु हुन्छ । त्यतिबेला वन सुकेको नहुने भएकाले कम जोखिमको रुपमा लिइए पनि चैतको डढेलो भने जोखिमपूर्ण हुने फुङलिङ ८ का हर्कबहादुर मगर बताउँछन् । जिल्ला प्रहरी कार्यालयका अनुसार डढेलोका कारण यो वर्ष मानवीय क्षति भने भएको छैन । केही समयअघिको डढेलोले फुङलिङ नगरपालिका ११ फावाखोला बिचगाउँको जंगलमा लागेको डढेलोले खानेपानीको पाइप, सिंचाई कुलोको पाइप, अलैंची बगान, बर्खे दाउरा, गोलिया काठ र बोटबिरुवा नष्ट गरेको फावाखोलाका रमेश राई बताउँछन् ।

सामुदायिक वन उपभोक्ता समिति महासंघका केन्द्रीय सदस्य कृष्ण ओझा एक दशकअघिसम्म हिउँदको बेला महिनौंसम्म वन जल्ने तर अहिले केही परिवर्तन भएको बताउँछन् ।

‘पहिला सञ्चारको सुविधा थिएन गाउँका मानिस आफ्नो घर सुरक्षित गरेपछि आनन्दले बस्थे,’ ओझाले भने, ‘अहिले कसै न कसैले देख्छ फोटो भिडियो हाल्छ अनि गाउलेलाई निभाउन जान पनि दबाब बढ्छ ।’ कतिपय ठाउँमा निभाउने सम्भावना पनि नभएको उनको भनाइ छ ।

‘ताप्लेजुङमा त त्यस्ता ठाउँ पनि छन् जहा लागेको आगो निभ्न कि पानी पर्नुपर्छ कि जंगलनै सकिनु पर्छ,’ उनले भने । सिदिङवा, मिक्वाखोला, फक्ताङलुङ क्षेत्रमा ठूल्ठूला जंगल रहेको उनले बताए । डढेलो लगाएपछि बन्यजन्तु ज्यान जोगाउन बाहिर निस्कने भएकाले शिकार खेल्नेले पनि आगो लगाउने गरेको बुझाई संरक्षणकर्मीको छ ।-ekantipur

प्रतिक्रिया

सम्बन्धित खवर