हिउँ चितुवा संरक्षणमा पेन्जोक्ला - Epathivara

ताप्लेजुङ — ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–६ लेलेपको घुन्साकी पेन्जोक्ला शेर्पा हिउँ चितुवाका आनीबानीबारे राम्रो जानकार छिन् । संखुवासभाको गुफापोखरीबाट विवाह गरेर घुन्सा आएकी हुन् उनी । पेन्जोक्लाले हिउँ चितुवाको आवाज मात्र सुनेकी छैनन्, हिउँ चितुवाले आफ्ना पशुचौपाया खाइदिएपछि बगेका किसानका आँसु देखेकी छन् ।

हिउँ चितुवा संरक्षणमा पेन्जोक्ला
श्रीमान्सँगै घुन्साबाट खम्बाछेन आउजाउ गर्दा हिउँ चितुवाले लखेटेर फर्किएका चौंरीका बथान नियालेकी छन् । उनका श्रीमान् होटल सञ्चालनमा व्यस्त छन् । अहिलेसम्म जिउँदो हिउँ चितुवा देख्ने अवसर नपाएकी भए पनि उनी मरेका हिउँ चितुवाको अन्त्येष्टिमा भने सहभागी भएकी छन् ।

२७ वर्षीया शेर्पा अहिले घुन्साको हिउँ चितुवा संरक्षण उपसमितिकी अध्यक्ष हुन् । सात सदस्यीय समितिमा अरू महिला छन् । ‘विदेशी आउँदा पनि स्नो लियोपार्टको विषयमा सोध्छन्, गाउँको मान्छे पनि चौंरी खायो, नाउर खायो भनेर हिउँ चितुवाको कुरा गर्छन्,’ पेन्जोक्लाले थपिन्, ‘पोहोर वैशाखमा उपसमिति बनाउनेभन्दा अबको अध्यक्ष म बस्छु भनेर बसेको हुँ ।’

उनी अध्यक्ष भएको तीन/चार दिनमै खम्बाछेनमा हिउँ चितुवा मरेको खबर आयो । त्यो बेला उनी आफ्नो आठमहिने शिशु स्याहारिरहेकी थिइन् । हिमचितुवा मरेको ठाउँमा पुगेर फर्कन तीन दिन लाग्ने भएकाले घटनास्थलमा जान सकिनन् । समितिका सदस्य, सामुदायिक वनका पदाधिकारीलगायत गएर मृत हिउँ चितुवा घुन्सामा ल्याएर अन्त्येष्टि गरे ।

उनले हिउँ चितुवाबारे सामग्री संकलन गरेर अध्ययन गर्ने, यसका जानकारलाई भेट्ने गरेकी छन् । एक सन्तानकी आमा उनले बच्चा हुर्कंदै गएकाले अब हिउँ चितुवाको बासस्थान अवलोकन गर्ने, संरक्षण शिक्षा प्रवाह गर्ने योजना बनाएकी छन् । ‘काठमाडौंमा डब्लूडब्लूएफका कन्ट्री डाइरेक्टरलाई भेटेर उहाँहरूको अनुभव पनि सुनेर आएको छु,’ पेन्जोक्लाले थपिन्, ‘अब हिमाल जान सक्ने सिजन सुरु भयो, हिउँ चितुवालाई पहिला स्याटेलाइट लगाएको, पासो थापेको ठाउँहरू आफैंले गएर हेर्छु ।’

पहिलो पटक महिला अध्यक्ष भएकाले धेरैबाट वाहवाही पाएकी उनलाई हिउँ चितुवासम्बन्धी जानकार हुने र आफ्नो उपसमितिले राम्रो काम गरेर देखाउने चाहना छ । उनले नेतृत्व गरेको उपसमितिमा अहिले २८ लाख रुपैयाँको कोष छ । हिउँ चितुवाले कसैको पशुचौपायमा क्षति पुर्‍याए १० हजारसम्म क्षतिपूर्ति दिनुपर्छ । ८० हजारको चौंरी मार्दा १० हजार रुपैयाँ भनेर किसानले गुनासो गरेका छन् त्यसैले रकम बढाएर कम्तीमा ३० हजार पुर्‍याउने उनको चाहना छ । त्यसका लागि अध्ययन गरिरहेको र समिति र उपभोक्तासँग छलफल गरिरहेको उनले बताइन् ।

३१ सय मिटर उचाइको घुन्सा र ४२ सय मिटरको खम्बाछेन गरी दुई ठाउँमा होटल गर्ने उनी यिनै स्थानको ओहोरदोहोरको समयलाई प्रयोग गरेर पनि हिउँ चितुवासम्बधी जानकार हुने विश्वासमा छन् । कञ्चनजंघा संरक्षण क्षेत्रले खम्बाछेन क्षेत्रमा दुईवटा हिउँ चितुवामा स्याटेलाइट जडान गरी अध्ययन गरेको थियो । यो वर्षदेखि क्यामरा ट्र्याप राखेर थप अध्ययन गर्ने तयारीमा संरक्षण क्षेत्र रहेको छ । यातायातको पहुँच बाहिरका गाउँमा जन्मेहुर्केको र हिमाली क्षेत्रमै बसेकाले हिउँ चितुवासम्बन्धी काम गर्न सक्ने उनमा हिम्मत पलाउँछ । स्नातक तहसम्मको अध्ययन गरेकी उनले हिमाली क्षेत्रमै जन्मे हुर्केर बढे–पढेकाले आफूलाई संरक्षणसम्बन्धी काम गर्न कुनै समस्या नभएको र नहुने दाबी गरिन् ।

हिमालको रानी उपमा दिइएको विश्वकै दुर्लभ वन्यजन्तुको सूचीमा सूचीकृत हिउँ चितुवा हिमाली क्षेत्रमा पाइन्छ । विश्व वन्यजन्तु कोष नेपालले कञ्चनजंघा संरक्षण क्षेत्र आयोजनामार्फत २०७० सालमा पहिलो पटक हिउँ चितुवाको घाँटीमा स्याटेलाइट (रेडियो कलर) झुन्डाएर कञ्चनजंघा क्षेत्रमा अध्ययन गरेको थियो । उच्च हिमाली क्षेत्रमा मात्रै पाइने यो जनावर कञ्चनजंघा क्षेत्रमा पनि छ भन्ने आधिकारिक पुष्टि त्यही समयदेखि भएको हो । घुन्सा, खम्बाछेन, लोनाक, याङमा, याक्फुदिन, पापुङ लगायतको क्षेत्रमा यो जनावर पाइने स्थानीयको दाबी छ । यसको पहिलो आहार जंगली भेडा (नाउर) हो । घरपालुवा भेडा, चौंरीलगायत जनावरको पनि यसले सिकार गर्दै आएको छ ।

मानव र यो जनावरबीचको द्वन्द्व न्यूनीकरणका लागि हिउँ चितुवा संरक्षण उपसमितिमार्फत क्षतिपूर्ति दिने गरिन्छ । सिमानाले नछेक्ने र कुनै देशको पनि आफ्नो नहुने जंगली जनावर जगंलैजगल विभिन्न देश पुग्ने गरेका छन् । हिउँ चितुवामा स्याटेलाइट लगाएपछि भारत र चीन आउजान गर्ने गरेको अध्ययनले देखाएको छ । ५ हजार मिटरमाथिको हिमाली क्षेत्रबाट आएको आवाज कञ्चनजंघा क्षेत्रको भ्रमणमा जाने स्वदेशी तथा विदेशी पर्यटकले पनि सुन्ने हिमाली क्षेत्रका बासिन्दा सुनाउँछन् । हिमालमा बस्ने भएकाले पर्यटकलाई देखाउन चाहिँ नसकेको उनीहरूको भनाइ छ ।-ekantipur.com

प्रतिक्रिया

सम्बन्धित खवर