पाथीभरा समितिको खातामा भेटीको रकम ८ करोड - Epathivara

ताप्लेजुङ — दसैं–तिहारको समयमा ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिरमा ६८ लाख रुपैंया भेटी रकम संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले यो अवधिको भेटीको रकम गणना सकेपछि विवरण सार्वजनिक गरेको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले कार्तिक देखि मंसिर मसान्त सम्ममा ६८ लाख ११ हजार १ सय १० रुपैंया भेटी संकलन भएको जानकारी दिए ।

यो समेत अब क्षेत्र विकास समितिको खातामा ८ करोड ३५ लाख २३ हजार रुपैयाँ बैंक मौज्दात रहेको हाङवाङले बताए । समितिले सदरमुकाम फुङलिङका पाँच वटा बैंकमा रकम राखेको छ । पछिल्लो १५ महिनामा ९८ तोला सुन समेत संकलन भएको हाङवाङले बताए । यही अवधिमा ९२ किलो ६ सय ५० ग्राम चाँदी समेत संकलन भएको क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेले बताए ।

तिर्थयात्रीले चढाएको ६ हजार ५ सय ३५ किलोग्राम तामा र १६ हजार ३ सय ६८ किलो घण्टी समेत तौल गरेर भण्डारण गरिएको क्षेत्र विकास समितिले जनाएको छ । जम्मा भएको सुन, चाँदी, तामा र घण्टीलाई क्षेत्र विकास समितिको बैठक वसेर व्यवस्थापन गर्ने थेवेले जनाएका छन् ।

पाथीभरा क्षेत्र विकास समिति २०५३ सालमा गठन भएको हो । भेटी भनें २०७६ सालदेखि संकलन तथा खर्च गर्दै आएको छ । यसअघि सम्म नागरिक स्तरवाट गठित पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिले संकलन तथा खर्च गर्दै आएको थियो ।

पाथीभरा क्षेत्रलाई सफा राख्न र संकलित भेटी गणनाकालागि ज्यालादारीमा कर्मचारी थपिएको पनि हाङवाङले बताए । पाथीभराको प्रचारप्रसार र गतिविधिलाई आम भत्तजनमा पुर्‍याउन तथा कार्यालय ब्यवस्थापनकालागि कर्मचारी थप गरिएको समेत उनले बताए । दुई जनालाई करारमा र अन्यलाई छ जनालाई ज्यालादारीमा राखिएको छ ।

यसअघि समिति मातहत १५ जना कर्मचारी रहेका थिए । कार्यकारी निर्देशक र क्षेत्र विकास समितिको अध्यक्ष सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्री स्तरिय निर्णयवाट चार वर्षकालागि नियुत्त गर्ने प्रावधान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर