कोशीमा जसपा सरकारमा सहभागी नहुने - Epathivara

मोरङ — कोशीमा एकमात्र प्रदेश सांसद रहेको जनता समाजवादी पार्टी(जसपा) पहिचान पक्षधरको आन्दोलनको विषयमा सहमति नहुञ्जेल सरकारमा सहभागी नहुने भएको छ ।

जसपा कोशी प्रदेश कार्यकारिणी समिति बैठकले पहिचान पक्षधरको आन्दोलनको विषयमा मुख्यमन्त्री केदार कार्कीसँग सहमति नहुञ्जेल सरकारमा सहभागी नहुने निर्णय गरेको जसपा कोशी अध्यक्ष दीपक याख्खाले बताएका छन् ।

कांग्रेसका कार्कीले पार्टीका ८ प्रदेश सांसदसहित पार्टी र सत्ता गठबन्धन दलको निर्णयविरूद्ध विद्रोह गरेर एमालेको समर्थनमा असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका हुन् । तर विश्वासको मत लिने क्रममा कांग्रेस नेता शेखर कोइराला निकट मुख्यमन्त्री कार्कीलाई जसपालगायतका सत्ता गठबन्धन दलले कार्तिक १ गते प्रदेशसभामा विश्वासको मत दिएका छन् ।

जसपाले यसअघि उद्धव थापा नेतृत्वको सरकारमा सहभागी हुनु अगाडि पनि यस्तै निर्णय गरेको थियो । तर थापाले पहिचानको मुद्दा लिएर आन्दोलनरत पक्षसँग वार्ता गर्ने एक बुँदे निर्णय गरेपछि जसपाकी प्रदेश सांसद निर्मला लिम्बू स्वास्थ्य मन्त्रालय सम्हाल्न आएकी थिइन् ।

सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री भएका कार्की नेतृत्वको सरकारमा जसपा सहभागी नभए पनि कुनै असर नपर्ने अवस्था छ । प्रदेश पुनः नामकरणको विषयमा जसपा दह्रो अडानमा रहिरहेको अवस्थामा सरकारमा सहभागी नगराउने मुख्यमन्त्री कार्की निकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर