ताप्लेजुङ — फक्ताङलुङ गाउँपालिका–६ लेलेप घुन्साका ङिमा शेर्पाका चौंरीका बथान फले पुगेका छन् । औल झार्ने क्रममा घुन्सा खोलाको पुल भत्किँदा उनका आधा दर्जन चौंरी घाइते पनि छन् । ७७ वटा चौंरीको गोठ एकैसाथ औलतिर झारिएको हो ।
चौंरी, याक र बाच्छाबाच्छी लेकमा अडिन छाडेपछि डोकोमा ओढ्ने–ओछ्याउने हालेर गोठालाहरू पछिपछि लागेका छन् । पहिल्यै निर्धारण गरिएका खर्कमा पुगे र पुर्याएपछि गोठ बनाएर त्यहीं बस्ने गरिन्छ ।
फुङलिङ नगरपालिका–११ फावाखोलाका गोपाल विष्ट ‘अन्तरे’ ले पनि भेडाको गोठ सिद्धिको चरन छोडाएर घुन्सा, फले हुँदै ग्याब्ला छेउमा झारेका छन् । उनले यहाँबाट दुई घण्टा तलको अम्जिलेसामा कात्तिक अन्तिमसम्म गोठ राख्छन् । हिउँ बर्सिएर भेडाले अडिन नमाने त्यो भन्दा अगाडि नै पनि ओरालो झार्नुपर्ने हुन सक्छ । बर्खा सकिएसँगै चौंरी, याक, भेडा जस्ता घुमन्ते चौपायापालक कृषक गोठ र बथान औल झार्न थालेका छन् । दसैंतिहार नजिकिँदा बस्तीमा माग वृद्धि हुने भएकाले पनि उनीहरूलाई यतिबेला गोठ सार्ने हतारो भएको हो ।
बर्खामा खर्क डुलाउने र हिउँदमा औलतिर चराउने उनीहरूको वार्षिक कार्यतालिका हुन्छ । मौसमअनुसार १५/२० दिन तालिका तलमाथि हुने गरेको पशुपालक बताउँछन् । चार सयभन्दा बढी भेडा पालिरहेका गोपाल मौसमको छनक चौपायाले नै पाउने बताउँछन् । ‘चौपाया हिँड्न थालेपछि रोक्नै सकिन्न,’ उनले भने । लेकमा सिद्धि र औलमा खोलाका नदी किनारसम्म पुर्याइने गोठ हेर्न सजिलोका लागि संयुक्त पनि बनाउने गरिएको छ । दुई/तीनवटा गोठ मिलाएर एउटै बनाउने र बस्तीका खाली जग्गामा चराउने गरेको गोपालले सुनाए । भेडाको मल राम्रो हुने र अन्न उत्पादनमा सहयोग पुर्याउने भएकाले मकै छर्नुअघि बारी मल्नका लागि राख्ने गरिएको कृषकहरू बताउँछन् ।
भेडा दिनभरि मुख नबिसाई घाँस खान खोज्ने भएकाले घरमा बाँधेर पाल्न सकिँदैन । फावाखोलाका कमल विष्टले भने, ‘घरायसी प्रयोजनका लागि दुई/चारवटासम्म ठाउँअनुसार पाल्ने गरेका छौं ।’ विशेषगरी गुरुङ समुदायले एक घरमा दुईदेखि चारवटासम्म भेडा पाल्ने गरेका छन् । दसैंतिहार, विवाहजस्ता उत्सवमा अनिवार्य चाहिने भएकाले यहाँका सबैजसो कृषकले पाल्ने गरेका हुन् ।
जिल्लाको फक्ताङलुङ, सिरिजंगा, सिदिङ्वा, मिक्वाखोला गाउँपालिका पशुपालकले ५५ सय मिटर उचाइसम्म गोठ र बथान डुलाउने गरेका छन् । साबिकका साँवा, पापुङ, कालीखोला, सादेवा, सुरुमखिम, ओलाङचुङगोला, लेलेप, घुन्सालगायतको क्षेत्रकाले बढी गोठ डुलाउने चलन छ । घुमन्ते पशुपालकका आआफ्नै खर्क छन् । जिल्लाको पूर्वी भेगका कृषकले कञ्चनजंघा हिमालको पूर्वी क्षेत्रको बेसक्याम्पसम्म र उत्तरी क्षेत्रकाले सम्बाछेन माथिसम्म चरनका लागि पुर्याउने गरेका छन् । जंगली जनावरबाहेक हिमाली क्षेत्रमा चराउन भने कुनै समस्या छैन ।
‘सिद्धिमा लगेर छोडिदिएपछि जतिको पनि गोठ हेर्न सकिन्छ,’ ङिमाले भने, ‘कुनै वर्षचाहिँ वन कुकुर, हिउँ चितुवाले साह्रै क्षति पुर्याउँछ ।’ तापक्रमको मेसो आफैं पाउने भएकाले मौसमअनुकूल आफैंले चरन क्षेत्र छाड्ने पशुपालकको अनुभव छ । ‘चिसो याम सुरु भएपछि कराएर ओरालो लाग्छन् र गर्मी सुरु भएपछि उकालो चढ्न थाल्छन्,’ गोपालले भने, ‘त्यति बेला रोक्नतिर लाग्नु हुँदैन, गोठ भत्काएर आफू पनि पछिपछि लागिहाल्नुपर्छ ।’ बर्सेनि डुलाउने खर्क प्रायः एउटै हुने भएकाले चौपायाले अघिल्लो वर्षका खर्क आफैं पछ्याउँछन् । यतिबेला औल झर्न थालेका चौपाया मंसिर अन्तिमतिर तमोर गड्तिर पुर्याउनुपर्छ । दुई महिनाको समयावधि यही आसपास बिताइन्छ । गोठ लिएर हिँड्नेहरूले ओढ्ने–ओछ्याउने भाँडावर्तनलगायतका सामग्री साथैमा लिएका हुन्छन् ।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्यांकअनुसार जिल्लामा १५ देखि १७ सय हाराहारी भेडा छन् । चौंरीको संख्या तीन हजारभन्दा बढी छ । एक दशकअघिसम्म तेब्बर बढी भए पनि संख्या घट्दै गएको तथ्यांकले देखाएको छ ।-ekantipur