काठमाडौँ — नेपाली कांग्रेसले कोशी प्रदेशमा पुनः आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने भएको छ । मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको शीर्ष नेताहरूको बैठकले गठबन्धनमा पहिल्यै भएको सहमतिबमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय लिएको हो ।
कोशीमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने कांग्रेसको निर्णय
सभापति देउवाले गठबन्धनमा भएको सहमतिबमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने विषयमा अडान लिएका छन् । बैठकपछि सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गठबन्धनमा पहिल्यै भएको सहमतिबमोजिम कोशीमा कांग्रेसकै नेतृत्वमा सरकार गठनको लागि पहल गर्ने निर्णय भएको बताए ।
‘हाम्रो गठबन्धन छ । गठबन्धनमा पहिल्यै कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने भन्ने सहमति छ । त्यहीअनुसार यसअघि प्रतिकूल अवस्थामा पनि कांग्रेसले नेतृत्व गर्न खडा भयो,’ विश्वकर्माले भने, ‘अब सरकार बन्ने वातावरण बनेको अवस्थामा पछि हट्ने कुरा हुँदैन । तर त्यसकालागि लचिलो भएर संवादको वातावरण बनाउने तयारी छ ।’
कोशीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा यसअघि दुई पटक मुख्यमन्त्री नियुक्त भएपनि विश्वासको मत पाउन सकेनन् । ‘दुई पटकसम्म हाम्रो संसदीय दलको नेताले विश्वासको मत पाउनुभएन । त्यो परिस्थिति नै प्रतिकूल थियो,’ नेता विश्वकर्माले भने, ‘अब फेरि पनि पार्टीको नेतृत्वमा सरकार गठन हुँदा हामीले उहाँलाई नै अघि सार्ने हो ।’
बैठकले सभापति देउवालाई त्यसबारे लचिलो भएर वार्ता र संवादका लागि जिम्मेवारी दिएको छ ।
बैठकले इजरायलमा भएको आक्रमण र नेपालीहरूको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेको छ भने मंगलबारै बस्ने संसदीय दलको बैठकमा इजरायलमा भएको हमास आक्रमण र त्यहाँ मृत्यु भएका युवाप्रति शोक व्यक्त गर्ने र सोहीबारेमा सरकारलाई सुझाव दिने विषयमा मात्रै केन्द्रित हुने जनाइएको छ ।
प्रदेशसभाको पहिलो दलको हिसावले मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले विश्वासको मत जुटाउन नसकेपछि शनिबार पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्रीकालागि दाबी पेश गर्न आव्हान गरेका छन् । त्यसकालागि आगामी शुक्रबार साँझसम्मको समय दिइएको छ ।
कांग्रेसले शुक्रबारसम्म सकेसम्म आफ्नै नेतृत्वमा, नभए गठबन्धनका दलहरूको धारणाबमोजिम समेत भएपनि गठबन्धनकै नेतृत्वमा सरकार गठनको बातावरण बनाउन पहल लिने निर्णय गरेको हो ।
कोशी प्रदेशसभा हाल ९३ सदस्यीय छ । त्यसमध्ये बहुमतकालागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । तत्काल सरकार गठनकालागि आवश्यक पर्ने यो संख्या गठबन्धनसँग पहिल्यै छ । जसमा कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक सांसद छन् ।
तर विश्वासको मत प्राप्त गर्ने बेला फेरि संकट पर्ने भएपछि गठबन्धनले यसपटक राप्रपाको साथ खोजेको छ । प्रदेशसभामा राप्रपाका ६ सांसद छन् । राप्रपाले गठबन्धनलाई साथ दिए प्रदेशमा गठबन्धनलाई सरकार गठनको सहज बातावरण बन्नेछ ।
प्रदेशसभामा एमालेका ४० सांसद छन् ।