काठमाडौँ । नेकपा एमालेको प्रदेश अधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले नेतृत्वमा प्रतिस्पर्धा गर्न हलुका ढंगले बञ्चित गरे पनि त्यसको देशव्यापी रुपमा प्रतिवाद हुँदा अध्यक्षलाई नै असर परेको छ ।
पार्टी अध्यक्ष ओलीले दिएको निर्देशन सबैतिर उल्लंघन हुँदै जाँदा गण्डकी, लुम्बिनी, कर्णालीमा आफूले चाहेको नेतृत्व नआउँदा असर परेको हो । ओलीको नाम लिएर प्यानल बनाउने र अर्कोतर्फ विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङलाई जोड्दै जाँदा शुक्रबार दिउँसो उनले साथीभाइको चित्त दुख्न थालेको भन्दै सकेसम्म सर्वसम्मत ढंगले नेतृत्व चयन गर्न पार्टीको उपत्यका विशेष प्रदेश कमिटीलाई निर्देशन दिए ।
विपक्षी र सञ्चारमाध्यामहरुले प्रदेश अधिवेशनहरुमा लडे, भिडे भन्ने खालको गलत सन्देश प्रवाह गरेको दाबी गर्दै ओलीले उपत्यका विशेष प्रदेशले भने सर्वसम्मतिमै नेतृत्व चयन भयो भन्ने सन्देश प्रवाह गर्न विशेष आग्रहसहितको निर्र्देशन दिएका थिए ।
पार्टीको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनलाई शुक्रबार उद्घाटन गर्दै उनले कुरा मिलेन भने स्वस्थ्य प्रतिस्पर्धा गर्नुस् भनेर आफूले प्रदेश अधिवेशनहरुमा भनेको कुरालाई नसुनेको भन्दै सञ्चारमाध्यमप्रति पनि गुनासो गरे ।
उनले आफ्नै साथीको मन दुख्ने भएकाले पनि निर्वाचनबाट भन्दा सर्वसम्मतिमै नेतृत्व चयन गर्न उपयुक्त हुने तर्कसमेत गर्दै सकेसम्म प्रतिस्पर्धामा नजान आग्रह गरेका छन् ।
कसैको पनि मन नदुखाइकन नेतृत्व चयन हुनु भनेको सबैभन्दा उत्तम भएको ओलीको भनाइ थियो । उनले निर्वाचनको नाममा कतिपय ठाउँमा अनुचित काम भएको निष्कर्ष निकाल्दै त्यसो नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका थिए ।
‘प्रतिस्पर्धाबाट जितेर पनि के–के न ठूलो कुरो पाइने होइन । फेरि सबैले जित्ने होइन । एउटाले जित्छ । अर्काले हारेपछि मन पनि दुख्छ । सहमति ग¥यो भने मन दुख्दैन । मन नदुखाइकन अगाडि बढ्ने काम सबभन्दा राम्रो हो नि त ! किन मन दुखाउने ? उठेपछि मन दुख्दोरहेछ । यसो म ठाउँठाउँमा हेर्छु । मन दुख्दोरहेछ साथीहरुको, निर्वाचनमा उठेपछि जित्नका लागि अलिक कतिपय ठाउँमा जसोतसो अभ्यास गरेको पनि देखिन्छ । त्यस्तो पनि नगरौं । हामी साँच्चै उच्चस्तरीय लोकतान्त्रिक अभ्यास समझदारी र त्यसबाट सहमति गरौँ’, ओलीले भने ।
गण्डकी प्रदेशको घोषणा सभामा खगराज अधिकारीको समूहलाई हराएपछि केपी बा पछि पीएस नै हाम्रो नेता भएको गीत गाएका थिए । जसले गर्दा ओलीलाई समेत अप्ठेरो परेको थियो ।
पोखरामा पीएस गुरुङको पक्षमा गीत गाउन थालेपछि महासचिव शंकर पोखरेलले पनि उपत्यका प्रदेशलाई सर्वसम्मतीमै नेतृत्व छान्न जोड गरेका थिए ।
उनले आन्तरिक प्रतिस्पर्धा गर्दा ख्याल गर्न आग्रह समेत गरेका थिए । ‘हामीले आन्तरिक लोकतन्त्रलाई अबलम्बन गर्ने कुरा गरिराख्दा बाहिरबाट पार्टीलाई समूहगत रुपमा विभाजित गर्ने काम भयो, सामाजिक सञ्जाल र आम सञ्चारमाध्यममा नेताहरुलाई जोडेर विभाजन गर्न थालियो यसमा ख्याल गरौँ’, उनले भनेका थिए ।
पार्टीभित्र आन्तरिक प्रतिस्पर्धामा एकपटकको प्रतिस्पर्धी सधैको प्रतिस्पर्धी बन्न पुग्ने भएकाले त्यो कमजोरीबाट जोगाउनु पर्ने उनको भनाइ थियो ।भौगोलिक प्रदेश कमिटीका अधिवेशन सकिन लाग्दा गैरभौगोलिक र बुद्धीजीवी–कर्मचारी क्षेत्रका सदस्य आबद्ध यस प्रदेश कमिटीको अधिवेशन शुरु भएको हो ।
उद्घाटनअघि शान्तिबाटिका (रत्नपार्क) बाट प्रदर्शनीमार्गसम्म पदयात्राको आयोजना गरिएको थियो ।
तीन सय चार प्रतिनिधि रहने अधिवेशनले ७५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । यस प्रदेश कमिटी मातहत बुद्धिजीवि विशेष, मजदुर, विद्यार्थी र उद्योग–व्यावसय गरी चार जिल्ला कमिटी र ५८ इलाका कमिटी रहेका छन् ।
यो प्रदेशमा हालका अध्यक्ष प्रेम पराजुलीले दोहोर्याउने चाहना राखेका छन् । यसअघिका सचिव समीर नेपालले छाडेका थिए भने सचिवमा चन्द्र रिजाललाई राखेर सहमति गर्ने प्रयास थालिएको छ । यो प्रदेशमा खासै रस्साकस्सी छैन ।-hamrakura