दोभान बजारका पसलबाट म्याद नाघेका बस्तु जफत - Epathivara

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो ब्यापारिक केन्द्र दोभान बजार अनुगमनका क्रममा मोटो परिमाणमा म्याद सकिएका सामग्री जफत गरेको जनाएको छ । शनिवार जिल्ला अनुगमन समिति संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईको नेतृत्वमा पुगेको अनुगमन टोलीले दोभान बजारका ३५ भन्दा बढी पसलहरुको अनुगमनका क्रममा म्याद सिद्धिएका सामान जफत गरी नष्ट गरेको अनुगमन समिति सदस्य तथा घरेलु कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साईले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार बजार अनुगमनका क्रममा सम्वन्धित निकायमा दर्ता नभई सञ्चालन भएका तथा नविकरण प्रकृयामा सामेल हुन नसकेका पसल सञ्चालकलाई दशैं अघिको म्याद दिईएको छ । अनुगमनका क्रममा भेटिएका म्याद नाघेका र खान योग्य नभएका बस्तुहरु जफत गरी नष्ट गरेको समेत जानकारी दिनुभयो । सबैभन्दा बढी साधारण पेय पदार्थ तथा स्वायबिन तथा सस सहितका सामान म्याद सकिएको र प्रयोग गर्न नमिल्ने अवस्थाका सामान जफत गरी नष्ट गरिएको जिल्ला अनुगमन समितिले जनाएको छ ।

पछिल्लो समयमा जिल्ला अनुगमन समितिले ताप्लेजुङका बिभिन्न बजार क्षेत्रहरुमा रहेका पसलहरुमा नियमित कार्यतालिका बनाएर अनुगमन गर्दै आइरहेको छ । जिल्ला अनुगमन समितिले फुङलिङ बजारबाट सुरु गरेको अनुगमन फुङलिङपछि जिल्लाका प्रमुख तथा सहायक व्यपारिक केन्द्रहरुमा समेत बिकेन्द्रित गरिएको घरेलु कार्यालयले जनाएको छ ।

अनुगमनका क्रममा अखाद्य बस्तु९म्याद सकिएका सामान०को व्यवस्थापन,खाद्यान्न र मदिरा सहितको पेय पदार्थको व्यवस्थापन सहितका कार्यहरुमा पसल सञ्चालकहरुलाई सल्लाह समेत दिने गरिएको घरेलु कार्यालयका सुचना अधिकारी नविन भट्टराईले जानकारी दिनुभयो । जिल्ला अनुगमन समितिले ताप्लेजुङ सदरमुकाम फुङलिङ पछि जिल्ला भित्रका अन्य स्थानमा रहेका बजार तथा पसलहरुको अनुगमन कार्यलाई नियमित र तीवै रुपले अघि बढाउने योजना बनाएको र एकपटक अनुगमन भएका क्षेत्रहरुमा सेवा सुधारकोे अवस्था मापनका लागि छड्ने अनुगमन गर्ने तालिका बनाएको सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।

उहाँले प्रत्येक पालिकालाई समेत पालिका क्षेत्रका बजार तथा पसलहरुको अनुगमनका लागि आग्रह गर्ने योजना बनाईएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर