एन्फा अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता - Epathivara

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

संस्थापनइतर समूहले बहुमत सदस्यको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा दर्ता भएको अविश्वास प्रस्तावमा ४८ सदस्यले हस्ताक्षर गरेका छन् ।

अविश्वासको प्रस्ताव सोमबार बिहानै इमेलमार्फत पठाएको र भौतिक रुपमा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई बुझाएको संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले जानकारी दिए ।

अविश्वासको प्रस्ताव दर्ता हुनेबित्तिकै अध्यक्ष निलम्बनमा पर्ने भएकाले वरिष्ठ उपाध्यक्षलाई पत्र बुझाएको उनले बताए ।

उनले अघि भने, ‘उहाँहरुले एक वर्षमा गर्नुपर्ने धेरै प्रतियोगिता गर्न सक्नुभएन । उहाँहरुलाई राखिराख्दा नेपाली फुटबल झन् तल जान्छ भनेर यो निर्णय लिएका हौं ।’

एन्फाको साधारणसभामा ८६ सदस्य छन् । अविश्वासको प्रस्ताव दर्ता गर्न ४० प्रतिशत सदस्यको हस्ताक्षर भए पनि पुग्छ, तर पारित गर्न दुई तिहाई बहुमत चाहिन्छ ।

के हो विवाद ?

असार २०७९ मा एन्फाको अध्यक्ष चुनिएका नेम्वाङ कार्यकालको सुरुदेखि नै विवादमा पर्दै आएको छ ।

पछिल्लो विवाद भने विशेष साधारण सभा अनलाइनमार्फत गर्ने निर्णयलाई लिएर भयो । ए डिभिजन क्लबहरुले भौतिक उपस्थितिमै साधारणसभा गर्नुपर्ने माग गरेका थिए । तर एन्फाले आइतबार अनलाइनमार्फत साधारण सभा गर्न खोजेपनि बहुमत सदस्य उपस्थित भएनन् । सोमबार पनि अनलाइनमार्फत साधारण सभा राखिएको थियो, तर बहुमत सदस्यले अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सुरु हुन सकेन ।

एन्फा प्रवक्ता सुरेश शाहले भने विज्ञप्ती जारी गर्दै सदस्यहरुको विशेष सल्लाह सुझाव बमोजिम एन्फा अध्यक्षले साधारण सभा स्थगित गरेको दाबी गरेका छन् ।

अविश्वासको प्रस्ताव दर्ता गर्नेहरुले भने अध्यक्ष नेम्वाङ स्वतः निलम्बनमा परेकाले अब वरिष्ठ उपाध्यक्षले ३० दिनभित्र विशेष साधारणसभा बोलाउनु पर्ने बताएका छन् ।Onlinekhabar

प्रतिक्रिया

सम्बन्धित खवर