ताप्लेजुङ । जुट विकास फुटबल एकेडेमी ताप्लेजुङमा विहिबारदेखि सुरु भएको ताप्लेजुङ गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । घरेलु टिम मानाभारा स्पोर्टिङ क्लबलाई ट्राईबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै इटहरी सेमिफाईनलमा प्रवेश गरेको हो । दुवै टिमले निर्धारित समयमा एक एक को बराबरी खेलेका थिए । खेलको पहिलो हाफको २५ औं मिनेटमा इटहरीका रोहन कार्कीले एक गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि दोश्रो हाफको ७१ औं मिनेटमा मानाभाराका लखन पतंवाले गोल फर्काउँदै खेललाई बराबरी गरे ।
यसैविच प्रतियोगिताका म्यान अफ दि म्याच मानाभाराका अनुप सेन्दाङ भएको आयोजकले जनाएको छ । यसैबीच बुधबार दिउँसो १ बजे हुने अर्को खेलमा रेडहर्ष फुटबल क्लब इलाम र गोर्खा स्पोर्टिङ क्लब दमकबीच सेमिफाईनल प्रवेशका लागि प्रतिस्पर्धा हुने छ । लाखे जात्राका अवसरमा आयोजित प्रतियोगितामा दार्जेलिङको युनाईटेड खर्साङ क्लब सहित ८ टिम सहभागी भएकाछन् । सदरमुकाम स्थित भानुजन माद्यामिक विद्यालयको खेल मैदानमा भईरहेको प्रतियोगिताको फुङलिङ नगर प्रमुख अमिर मादेनले उद्घाटन गरे ।
वि.स.२०२९ सालदेखि लाखेजात्राका समयमा आयोजना हुँदै आएको फुटबल प्रतियोगिता बिगत तीन वर्षदेखि कोभिड–१९ को महामारी लगायतका कारण रोकिएको थियो । यस अघि पाथीभरा गोल्डकपको नाममा सञ्चालन हुँदै आएको प्रतियोगिता यो पटक ताप्लेजुङ गोल्डकपका रुपमा सञ्चालन भएको हो । भदौ २० गते सम्पन्न हुने प्रतियोगिताको बिजेताले तीन लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ भने उपबिजेताले नगद एक लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने लाखेजात्रा खेल सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए । लाखेजात्रा सँगैको खेलकुद प्रतियोगिता मार्फत जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने, बजारलाई चलायमान बनाउने, नयाँ प्रतिभाको सिर्जना गर्ने, अग्रजको सम्मान र ईतिहासलाई बचाई राख्ने उद्धेश्यका साथ प्रतियोगिता सञ्चालन गर्न सम्पुर्ण रुपले जुटेको अध्यक्ष गुरुङले बताए । फोटो पनि छ ।